दलहरु समेतको सहमतिमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने तयारी

काठमाडौँ – देशको चर्किँदो राजनीतिक संकटबीच पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने तयारी गरिएको छ । नेपाली सेनाका परमाधिपति समेत रहेका राष्ट्रपति रामचन्द्र पौडेलले आजै कार्कीलाई शपथ ग्रहण गराउने सम्भावना रहेको शीतल निवास स्रोतले जानकारी दिएको छ ।

जेनजी आन्दोलनकारीहरूको दबाबका बीच बिहीबार मध्यरातसम्म राष्ट्रपति पौडेलले प्रधानसेनापति अशोक राज सिग्देल, विभिन्न दलका नेता तथा संविधानविद्हरूसँग लामो छलफल गरेका थिए । छलफलमा संविधान नमासिने गरी कदम चाल्न सुझाव दिइएको थियो । त्यसपछि संविधानको संरक्षकको हैसियतले गैरसांसद कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने तयारी भएको हो ।

राष्ट्रपतिले संवैधानिक कानुनका विज्ञहरूसँग अबेरसम्म कार्कीलाई कसरी नियुक्त गर्न सकिन्छ भन्ने विषयमा परामर्श लिएका थिए । सभामुख देवराज घिमिरेसँग पनि उनले छुट्टै भेटवार्ता गरेका थिए ।

स्रोतका अनुसार, अन्तरिम सरकार गठन भइसकेपछि संविधान संशोधन र चुनावको म्याण्डेटमा काम गर्नेछ । साथै, हाल भइरहेको आन्दोलनबारे न्यायिक छानबिन गरी दोषीमाथि कारबाही गर्ने प्राथमिकतामा रहनेछ । यद्यपि संसद विघटनबारे भने दलबीच अझै सहमति जुट्न सकेको छैन । बालेन शाह पक्षधर जेनजी समूह संसद विघटनलाई प्रमुख एजेन्डा बनाइरहेका छन् भने राष्ट्रपतिले शुक्रबार बिहान ९ बजे सम्बद्ध पक्षहरूसँग अन्तिम छलफल गर्ने तयारी गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्