काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा उत्पन्न राजनीतिक संकट समाधानका लागि राष्ट्रपति र प्रतिनिधिसभाका सभामुखको समन्वयमा वैधानिक प्रक्रियाअनुसार नयाँ मन्त्रिपरिषद गठन गर्नुपर्ने सुझाव दिएकी छन्। ‘जेनजी’ आन्दोलनमा १९ युवाको ज्यान गइसकेको र हिंसा, आगजनी तथा तोडफोडका कारण मुलुक स्तब्ध बनेको भन्दै उनले बिहीबार विज्ञप्ति जारी गरेर संवैधानिक मार्गबाट अघि बढ्नुपर्नेमा जोड दिएकी हुन्।
भण्डारीले भनिन्, “प्रधानमन्त्रीले राजीनामा दिएपछि सरकार कामचलाउ अवस्थामा छ। तर संविधानले सुनिश्चित गरेका राष्ट्रपति र जननिर्वाचित संसदजस्ता संस्थाहरू विद्यमान छन्। त्यसैले वैधानिक प्रक्रियामार्फत नयाँ सरकार गठन गर्नुपर्ने हुन्छ।”
उनले युवा पुस्ताको आन्दोलनलाई लोकतान्त्रिक मूल्य र मान्यतासहित सही दिशातर्फ उन्मुख गराउनुपर्ने आवश्यकता औंल्याउँदै हिंसा र तोडफोडबाट राज्य तथा सम्पदामा पुगेको क्षतिको गम्भीर छानबिन गर्न सम्बद्ध सबैलाई आग्रह गरिन्। सामाजिक सञ्जाल बन्द हुँदा निस्सासिएको समाजलाई स्वतन्त्रताको वातावरणमा फर्काउने जेनजी पुस्ताको सपना अझ लोकतान्त्रिक र अग्रगामी हुने विश्वास समेत उनले व्यक्त गरेकी छन्।






