काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान गठबन्धन सरकारलाई स्वार्थ समूहहरूको सेवामा तल्लीन भएको आरोप लगाउँदै जनआक्रोश चरममा पुगेको बताएका छन्।
आज जारी विज्ञप्तिमा उनले भनेका छन्, “सुशासनको डरले आजभन्दा १४ महिनाअघि कांग्रेस र एमालेले मध्यरातमा सुरु गरेको असंवैधानिक र अप्राकृतिक गठबन्धनको पटाक्षेप दुःखद रुपमा तपाई–हाम्रासामु देखिएको छ। भ्रष्टाचारविरुद्ध सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा मेरो नेतृत्वको सरकारले चालेका कदमबाट अत्तालिएका स्वार्थ समूहहरूको सेवामा गठबन्धन सरकार तल्लीन भएकै कारण जनताको आक्रोशले चरम रूप लियो।”
उनले जेन-जी पुस्ताका युवाहरूको आन्दोलनलाई सही ठहर गर्दै सरकारले त्यसलाई बर्बर दमन र नरसंहारमा परिणत गरेको आरोप लगाए। “सामाजिक सञ्जाल प्रतिबन्ध तथा भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताले सुरु गरेको आन्दोलन सही थियो तर त्यसलाई सरकारले पहिलो दिनमै कुल्चियो,” प्रचण्डले भने।
प्रचण्डले स्मरण गराउँदै भने, केपी ओली नेतृत्वमा सरकार गठन भएपछि विश्वासको मत लिने क्रममा नै आफूले संसद्को रोष्टमबाट यस्तो असंवैधानिक गठबन्धनले मुलुकलाई संकटमा पुर्याउने चेतावनी दिएको थिएँ।
लगातारको कुशासन र सरकारको आत्मसमीक्षामा असफलताले जनतामा वितृष्णा फैलिएको भन्दै उनले अब सरकार जनआवाजप्रति संवेदनशील बन्नुपर्ने धारणा व्यक्त गरेका छन्।






