सुशीला कार्कीलाई आगामी सरकारको नेतृत्वमा अघि सार्ने प्रस्ताव, मेयर बालेनको समर्थन

काठमाडौं । राजधानीमा जारी राजनीतिक सरगर्मीबीच पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आगामी सरकारको नेतृत्वका लागि प्रस्ताव गरिएको छ । जेनजी आन्दोलनका प्रतिनिधिहरूले बुधबार कार्कीलाई नयाँ नेतृत्वका रूपमा अघि सारेका हुन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले समेत उक्त प्रस्तावमा समर्थन जनाएका छन् । जेनजी समूहले संवेदनशील समयको नेतृत्व गर्न कानून र विधिको रक्षा गर्नसक्ने इमान्दार व्यक्तित्व आवश्यक भएको भन्दै कार्कीको नाम अघि सारेको हो ।

बुधबार दिउँसो जंगीअड्डामा पुगेका जेनजी प्रतिनिधिहरूले प्रधानसेनापति अशोक सिग्देलसँग छलफल गर्ने क्रममा कार्कीलाई नेतृत्वका लागि प्रस्ताव गरेका थिए । तर, १५ जनाभन्दा बढी सहभागी भएपछि सेनाप्रमुख सिग्देलले आपसमा सहमति गरेर मात्र आउन आग्रह गरेका थिए । त्यसपछि जंगीअड्डाकै कोठामा बैठक बसेर अन्ततः कार्कीको नेतृत्वमा नागरिक सरकार गठन गर्ने सहमति बनेको बताइएको छ ।

यद्यपि, बैठकमा कतिपय सहभागीहरूले गणतान्त्रिक व्यवस्थाविरुद्ध प्रस्ताव राखेपछि केही समूह बाहिरिएको स्रोतले जनाएको छ । अन्तिममा भने कार्कीको नाममा बहुमत सहमति बनेको हो ।

यसबीचमा, केही युवाहरूले काठमाडौं महानगरका मेयर बालेन शाहलाई समेत सम्भावित नेतृत्वका रूपमा प्रस्ताव गरेका थिए । तर, उनी सम्पर्कमा नआएको गुनासो जेनजी प्रतिनिधिहरूको रहेको छ । मंगलबार बेलुकी मेयर शाहले सामाजिक सञ्जालमार्फत जेनजीलाई सेनाप्रमुखसँग वार्ता गर्न तयार रहन आह्वान गरेका थिए ।

बुधबार दिनभर जेनजी युवाले सामाजिक सञ्जाल डिस्कर्डमार्फत नेतृत्वबारे बहस गरेका थिए । त्यस क्रममा पनि कार्कीको पक्षमा उल्लेख्य समर्थन देखिएको थियो । तर, जंगीअड्डाबाहिर भने युवाहरूको एक समूहले कार्की नेतृत्वविरुद्ध नाराबाजी समेत गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्