काठमाडौं । काठमाडौंमा मंगलबार उत्पन्न तनावपूर्ण परिस्थितिलाई संवाद र वार्तामार्फतै हल गर्नुपर्नेमा नेपाली सेनाले जोड दिएको छ।
सेनाका एक उच्च अधिकारीका अनुसार सबै सुरक्षा संयन्त्रका प्रमुखसहित भएको छलफलमा राष्ट्रपति रामचन्द्र पौडेललाई परिस्थिति संवादबाट मात्रै समाधान गर्न सुझाव दिइएको छ। “त्यहीअनुसार राष्ट्रपति कार्यालयले संवादका लागि आह्वान गरिसकेको छ,” अधिकारीले भने, “अब कसरी अघि बढ्ने भन्ने विषयमा विभिन्न मोडलका कुरा हुनेछन् र त्यसको निर्णय हुनेछ।”
राष्ट्रपति पौडेलले जेनजी प्रदर्शनकारीलाई वार्ताका लागि आह्वान गरिसकेका छन्। बैठकमा नयाँ सरकार गठनदेखि भावी प्रक्रियाबारे छलफल हुने र त्यहाँ हुने निर्णयलाई नेपाली सेनाले पनि मान्ने जनाइएको छ। “नेपाली सेना सदैव जनताको साथमा छ, अगाडि आउने जिम्मेवारी लिन पनि तयार छ,” ती अधिकारीले भने, “तर नागरिकको आवाज मुख्य कुरा हो।”
यसअघि काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत जेनजी युवालाई सेनासँग वार्ताका लागि तयार रहन आग्रह गरेका थिए। उनले संसद् विघटनलाई वार्ताको पूर्वशर्तका रूपमा अघि सारेका थिए।
सोमबारको प्रदर्शनमा प्रहरीले अत्यधिक बल प्रयोग गर्दा कम्तिमा १९ जना मारिएका र २०० भन्दा बढी घाइते भएका थिए। मंगलबार प्रदर्शनकारीले सुरक्षा घेरा तोडेर बानेश्वरस्थित संसद् भवनभित्र प्रवेश गरेका थिए। त्यसपछि सिंहदरबार, सर्वोच्च अदालतलगायतका स्थानमा आगजनी भएका थिए।
तनावपूर्ण स्थितिपछि सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले विज्ञप्ति जारी गर्दै नेपाली सेनाले जनताको जिउधनको सुरक्षा र राष्ट्रिय सम्पत्तिको संरक्षणमा प्रतिबद्ध रहेको जनाएको छ। विज्ञप्तिमा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई कायम राख्दै संयमित रहन सबैलाई आग्रह गरिएको छ।
युवाहरू संसद् भवनभित्र प्रवेश गरेपछि नेपाली सेनाले उनीहरूलाई प्रत्यक्ष बल प्रयोग नगरी पहरा दिएको थियो। सेनाले मौन रूपमा समर्थन गरेको अनुभव गर्दै प्रदर्शनकारीहरूले ‘नेपाली सेना जिन्दाबाद, सेना हाम्रो साथी हो’ भन्ने नारा समेत लगाएका थिए।






