काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने कारागारबाट रिहा भएका छन् । उनले कानुन बमोजिमका सम्पूर्ण प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट बाहिरिएको दाबी गरेका छन्।
मंगलबार दिउँसो नख्खु कारागारबाट बाहिरिएका लामिछानेले पत्नी निकिता पौडेलमार्फत सन्देश जारी गर्दै भविष्यमा आइपर्ने सबै कानुनी प्रक्रियामा आफू तयार रहने बताए। “आम नागरिकको दबाबपछि सरकारले मेरो रिहाइका लागि कानुन बमोजिमको प्रक्रिया पूरा गरी पत्र थमाएपछि मात्रै म कारागारबाट बाहिरिएको हुँ,” उनले भनेका छन्, “यसका बाबजुद पनि मुलुकको कानुनप्रति बफादार हुँदै भविष्यमा आईपर्ने सम्पूर्ण आवश्यक कानुनी प्रक्रियाका लागि तयार छु।”
सोमबारदेखि उग्र बनेको जेनजी आन्दोलन मंगलबार झनै आक्रामक बन्दा लामिछाने पनि कारागारबाट बाहिरिएका हुन्। आन्दोलनरत युवापुस्ताको ऊर्जाप्रति सम्मान प्रकट गर्दै उनले अहिलेको आन्दोलन विशुद्ध जेनजीको भएको बताए। “मुलुकको अबको नेतृत्व जेनजीकै मागअनुसार अघि बढ्नुपर्नेमा म स्पष्ट छु,” लामिछानेले भने।






