काठमाडौँ – जेनजी आन्दोलन दोस्रो दिन मंगलबार थप आक्रामक बनेको छ। राजधानीसहित विभिन्न ठाउँमा प्रदर्शनकारीले मन्त्री र शीर्ष नेताहरूको घर लक्षित गर्दै ढुंगा प्रहार र आगजनी गरेका छन्।
ललितपुरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा प्रदर्शनकारीले आगजनी गरेका छन्। त्यस्तै, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको भैसेपाटीस्थित निवासमा ढुंगा प्रहार गरिएको छ। सोमबार मात्र गृहमन्त्री पदबाट राजीनामा दिएका रमेश लेखकको घरसमेत आक्रमणको लक्ष्य बनेको छ।
नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलको भैसेपाटीस्थित निवासमा समेत ढुंगा प्रहार भएको छ। पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित घरतर्फ प्रदर्शनकारी पुगे पनि त्यहाँ पुगेका अन्य प्रदर्शनकारीहरूले आक्रमण रोक्न आग्रह गरेका थिए।
त्यस्तै, माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को खुमलटारस्थित निवासमा पनि ढुंगा प्रहार गरिएको छ।राजधानीसहित देशभरि फैलिएको जेनजी आन्दोलन नेतामाथिको जनआक्रोशको स्वरूपमा देखिएको छ, जसले आन्दोलनलाई अझै चर्काउने संकेत गरेको छ।






