काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवामा सामान्य कामका लागि पनि अनावश्यक प्रक्रिया देखाउने र काम पन्छाउने प्रवृत्ति तत्काल सुधार्नुपर्ने आवश्यकता औंल्याएका छन्।
निजामती सेवा दिवसको अवसरमा दिएको शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले बदलिंदो विश्व परिवेश, नयाँ प्रविधि र जनअपेक्षा अनुरूप निजामती सेवाले आफूलाई रुपान्तरण गर्नुपर्नेमा जोड दिएका छन्। उनले भने, “निजामती सेवा सरकारलाई जनता समक्ष पुयाउने मुख्य जिम्मेवारी हो। सरकारका नीति तथा कार्यक्रमलाई जनस्तरमा कार्यान्वयन गर्ने निजामती सेवाको काममै सरकारको प्रभावकारिता निर्भर हुन्छ।”
प्रधानमन्त्री ओलीले नागरिकलाई सेवा खोज्दै हिँड्नुपर्ने अवस्था अन्त्य गरी “सेवाले नागरिक खोज्ने” समय आएको बताए। उनले टेबल–कुर्सीमै सीमित नभई प्रविधिमार्फत छिटो र सहज सेवाप्रवाह गर्न निजामती कर्मचारीलाई आग्रह गरे।
हाल निजामती सेवाका आदर्श, मूल्य मान्यता र आचरणप्रति नागरिकको विश्वास घट्दो देखिएकाले सुशासन, पारदर्शिता र जवाफदेहिताका आधारमा जनविश्वास पुनःस्थापित गर्नुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिए। उनले भने, “नागरिकलाई सेवा सुविधा उपलब्ध गराउँदा झन्झट र दुःख दिने कार्य सरकारलाई सहय हुँदैन।”
उनले हाल संसदमा पारित हुने क्रममा रहेको निजामती विधेयक कर्मचारी वर्गको उन्नयनसँगै संघीयताको कार्यान्वयनमा मील का पत्थर बन्ने विश्वास व्यक्त गरे। डिजिटल रुपान्तरण, ई–गभर्नेन्स, तथ्यांकमा आधारित नीति निर्माण र अनलाइन सेवाप्रवाहलाई उनले निजामती सेवाको प्रमुख दायित्वका रूपमा व्याख्या गरे।
प्रधानमन्त्री ओलीले नागरिक एपमार्फत सेवा एकीकृत गर्ने सरकारी नीतिबारे पनि स्मरण गराउँदै उच्चस्तरीय सुशासन आयोग गठन, सर्भिस म्यापिङ, खर्च र दरबन्दी कटौतीमार्फत पारदर्शी प्रशासनिक अभ्यासलाई संस्थागत गरिँदै गएको बताए।
‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्य पूरा गर्ने यात्रामा निजामती कर्मचारीको सिर्जनशीलता अपरिहार्य रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सबै कर्मचारीलाई उच्च मनोबलका साथ नागरिकमैत्री, पारदर्शी र परिणाममुखी सेवाप्रवाहमा क्रियाशील हुन आह्वान गरे।
शुभकामना सन्देशमार्फत प्रधानमन्त्री ओलीले सम्पूर्ण निजामती परिवारलाई दिवसको अवसरमा बधाई दिँदै उज्ज्वल भविष्यको शुभेच्छा व्यक्त गरेका छन्।






