काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबारे दिइएका विरोधाभासी अभिव्यक्तिले फेरि एकपटक अन्तर्राष्ट्रिय राजनीतिक वृत्तमा चर्चा पाएको छ । केही घण्टा अघि भारत चीनतर्फ झुकेको बताएका ट्रम्पले पछि प्रधानमन्त्री नरेन्द्र मोदीलाई “अच्छा दोस्त” र “ग्रेट प्राइम मिनिस्टर” भन्दै प्रशंसा गरेका छन् ।
ट्रम्पको बयानलाई प्रधानमन्त्री मोदीले सकारात्मक रुपमा लिँदै एक्समा लेखे, “भारत–अमेरिका सम्बन्ध विश्वका लागि गहिरो र रणनीतिक साझेदारी हो ।” मोदीको कूटनीतिक जवाफलाई पूर्व राजदूत केपी फ्याबियनले उचित कदम भन्दै स्वागत गरेका छन् ।
तर विशेषज्ञहरूको बुझाइमा ट्रम्पको यस्तो दोहोरो शैली सामान्य गल्ती नभई राजनीतिक रणनीति हो । सामरिक विश्लेषक ब्रह्मा चेलानी भन्छन्, “ट्रम्प प्रायः पहिलो दिन कडा बयान दिन्छन् र अर्को दिन नरम सन्देश पठाउँछन् । यसरी उनी आफ्ना मतदाता र सहयोगी दुबैलाई सन्देश दिन खोज्छन् ।”
यसबीच अमेरिकी पक्षका नजिकका सहयोगीहरूले भने भारतप्रति कठोर टिप्पणी जारी राखेका छन् । आर्थिक सल्लाहकार पीटर नवारोले भारतका उच्च ट्यारिफ र रूसी तेल खरिदलाई अमेरिकी रोजगारी र करदातामाथिको दबाबको कारण बताउँदै आलोचना गरेका छन् । यस्तै, अमेरिकी वित्तमन्त्री हावर्ड लुटनिकले “भारतले रूस वा अमेरिका मध्ये एक छान्नैपर्छ” भन्दै कडा चेतावनी दिएका छन् ।
भारतीय कूटनीतिक वृत्तमा प्रश्न उठिरहेको छ—ट्रम्पको ‘दोस्तीको सन्देश’सँगै ५० प्रतिशत ट्यारिफ, भिसा प्रतिबन्ध र डिपोर्टेसनजस्ता कडाइ कम हुने हो कि ?
पूर्व कूटनीतिज्ञ अजय बिसारिया भन्छन्, “यस्तो देखिन्छ—अगस्टभन्दा सेप्टेम्बर महिना भारत–अमेरिका सम्बन्धका लागि केही सहज हुने संकेत दिन्छ ।”






