काठमाडौँ – मुलुकका स्थायी सरकारका रूपमा रहेका निजामती सेवाका कर्मचारीले भोलि आइतबार देशभर विभिन्न कार्यक्रमको आयोजना गरी ‘निजामती सेवा दिवस’ मनाउने भएका छन् । विसं २०१२ साल भदौ २२ गते पहिलोपटक निजामती सेवासम्बन्धी ऐन जारी भएको स्मरणमा हरेक वर्ष यो दिन सेवा दिवसका रूपमा मनाइने परम्परा रहेको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव प्रकाश दाहालका अनुसार, निजामती सेवाको मूल्य–मान्यता, आचरण, निष्ठा र सदाचारलाई स्मरण गर्दै नागरिक सेवामा प्रतिबद्धता प्रकट गर्ने दिनका रूपमा यस दिवसलाई लिइन्छ ।
यस अवसरमा राजधानीमा प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा मूल समारोह हुने छ । कार्यक्रममा वर्षभर उत्कृष्ट काम गर्ने एक जनालाई सर्वोत्कृष्ट निजामती, १० जनालाई उत्कृष्ट निजामती र ३० जनालाई निजामती पुरस्कार प्रदान गरिनेछ । अघिल्लो वर्ष घोषणा गरिएका कर्मचारीलाई समेत प्रमाणपत्र र पुरस्कार प्रमुख अतिथिबाट वितरण गरिनेछ ।
मूल समारोह समितिको मातहतमा स्वास्थ्य शिविर, वृक्षरोपण, रक्तदान, मैत्रीपूर्ण फुटबल, अन्तक्र्रिया, झाँकी प्रदर्शनी, र्याली र दीपावलीजस्ता कार्यक्रम समेत आयोजना हुने भएका छन् ।
हाल देशभर करिब ८५ हजार निजामती कर्मचारी कार्यरत छन् । उनीहरूलाई ढिलासुस्ती, काम पन्छाउने, प्रक्रियामुखी हुने जस्ता आरोप लाग्दै आएको भए पनि पछिल्ला समय पारदर्शी, सूचना प्रविधिमैत्री सेवा प्रवाहमार्फत नागरिकमैत्री प्रशासन निर्माणको प्रयास भइरहेको कर्मचारीहरूको भनाइ छ ।
तर राजनीतिक आग्रह–पूर्वाग्रहका आधारमा हुने सरुवा, बढुवा र अवसरका कारण सक्षम व्यक्ति ओझेलमा परेको गुनासो पनि प्रशस्त छ । राजनीति र प्रशासनबीच सुमधुर सम्बन्ध कायम गर्न सके मात्र देश सफलतापूर्वक अघि बढ्ने प्रशासनका भुक्तभोगीहरू बताउँछन् ।
निजामती सेवाले नागरिकलाई सहज, सरल र पारदर्शी ढङ्गले सेवा पुर्याउन सके यसको साख अझ उचो हुने विश्वास लिइएको छ । यही प्रतिबद्धता पुनः दोहोर्याउँदै भोलि देशभर निजामती सेवा दिवस मनाइनेछ ।






