काठमाडौँ – नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चीनले अघि सारेको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) प्रति नेपालले समर्थन नगरेको स्पष्ट पारेका छन् । उनले जीएसआईमा समर्थन गरेको भन्दै विरोधीहरूले हल्ला फैलाएको आरोप लगाउँदै यस्तो भ्रमपूर्ण प्रचारबाजीलाई खण्डन गरे ।
शुक्रबार सुरु भएको विधान महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, “जीएसआईलाई समर्थन गर्यो भनेर हल्ला गराए तर हामीले केही बोलेका छैनौँ । राष्ट्रवादी भनिएकालाई दिने जवाफ छ । देशले सुन्नेगरी, विदेशले सुन्नेगरी भन्छु— देशको हित र पञ्चशीलको सिद्धान्त, विश्व शान्ति र न्यायविरुद्ध कुनै गतिविधि वा चिन्ता पनि राख्दैनौँ ।”
यस क्रममा प्रधानमन्त्री ओलीले हालै सम्पन्न चीन भ्रमणका विषयमा पनि प्रष्ट्याउँदै, लिपुलेकको प्रश्न आफूले प्रत्यक्ष रूपमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग उठाएको बताए । उनले भने, “लिपुलेकको विषय सीसँग उठाएको छु, यो रेकर्डमा छ, भिडियोमा छ, नोटमा छ ।”
ओलीका अनुसार, चिनियाँ राष्ट्रपति सीले नेपालप्रति स्पष्ट समर्थन जनाउँदै चीनले नेपालको भौगोलिक अखण्डता र सार्वभौमिकताको सम्मान गर्ने बताएका थिए । साथै, सीमा विवाद भारत र नेपालबीचको विषय भएकाले आपसी संवादमार्फत समाधान हुने विश्वास व्यक्त गरेको ओलीले उल्लेख गरे ।






