लिपुलेक सम्झौतामा चीनसँग स्पष्ट धारणा राखेको प्रधानमन्त्री ओलीको दाबी

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक क्षेत्र प्रयोग गरेर भारत र चीनबीच व्यापारिक सम्झौता गर्ने प्रयासबारे आफूले चीनसँग स्पष्ट रुपमा कुरा राखेको बताएका छन् ।

शुक्रबारदेखि सुरु भएको नेकपा (एमाले) को विधान महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रको हितविपरीत कुनै पनि कदम नमिल्ने धारणा सधैं प्रष्ट पार्दै आएको जिकिर गरे ।

प्रधानमन्त्री ओलीले भने, “यसपल्ट म चीन जाँदा पनि चीनका राष्ट्रपति सी चिनफिङसँगको औपचारिक वार्तामा लिपुलेक सन्दर्भमा भारत र चीनबीच भएको सम्झौता, हाम्रो भूमिबाट दुईवटा देशले व्यापारिक आदानप्रदान गर्ने कुरा गर्न मिल्दैन भन्ने कुरा मैले स्पष्ट ढंगले राखेको छु । यो कुरा रेकर्डेड छ— अडियोमा छ, भिडियोमा छ, नोट र टिपोटहरूमा छ ।”

उनका अनुसार, चिनियाँ राष्ट्रपति सीले नेपालको सार्वभौमसत्ता र भू–अखण्डताको सम्मान गर्ने स्पष्ट आश्वासन दिएका थिए । ओलीले भने, “चिनियाँ राष्ट्रपतिले जवाफ दिँदै भनेका थिए— हामी नेपालको सार्वभौमसत्ताको सम्मान गर्छौं, यसबाट तपाईंहरूलाई जुन आशंका भएको छ त्यसमा हाम्रो ध्यान छ । यो भारत र नेपालको विषय हो, तपाईंहरूले वार्ताबाट समाधान गर्नुहुन्छ भन्ने आशामा छौं ।”

ओलीले आफू जुनसुकै मुलुकको भ्रमणमा जाँदा पनि राष्ट्रिय हितलाई नै पहिलो प्राथमिकता दिने र देशको पक्षमा प्रष्ट र दृढ धारणा राख्ने गरेको बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्