काठमाडौँ – हिमाली जिल्ला मनाङमा प्रदेशसभा (२) सदस्य पदका लागि कात्तिक १७ गते उपचुनाव हुने भएको छ। निर्वाचन आयोगको हिजो बसेको बैठकले कार्यतालिका सार्वजनिक गर्दै जिल्ला निर्वाचन कार्यालयलाई पत्राचार गरिसकेको छ।
निमित्त निर्वाचन प्रमुख अधिकृत गोविन्दप्रसाद अर्यालका अनुसार चुनाव अवधि गएको भदौ १३ गतेदेखि नै शुरू भइसकेको छ। २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मनाङ–१ प्रदेशसभा (२) बाट निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) अयोग्य ठहरिएपछि उपचुनाव हुन लागेको हो।
यसैबीच प्रमुख जिल्ला अधिकारी नवराज पौडेलले उपचुनावका लागि शान्ति सुरक्षा र व्यवस्थापनमा विशेष ध्यान दिन निर्देशन दिएका छन्। उनले जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल नम्बर ३२ गुल्म मुख्यालय चामे निरीक्षण गर्दै आसन्न चुनाव सफल बनाउन सबै निकायको सक्रियता आवश्यक रहेको बताएका छन्।
सोही दिन कात्तिक १७ गते रुपन्देही प्रतिनिधिसभा क्षेत्र नम्बर–३ मा पनि उपचुनाव हुने तय भइसकेको छ। त्यहाँ राप्रपाका सांसद दीपक बोहोराको निधनपछि रिक्त भएको पदका लागि उपचुनाव हुँदैछ।






