काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले होटल व्यवसायलाई उत्पादनमुखी उद्योगको श्रेणीमा राखेर आवश्यक सुविधा दिने विषयमा सरकार गम्भीर रहेको बताएका छन्।
मंगलबार जिल्ला होटल व्यवसायी संघ काठमाडौँका अध्यक्ष सुरेश बरालसहितको टोलीले बुझाएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै मन्त्री खड्काले होटल तथा पर्यटन व्यवसाय देशको अर्थतन्त्रलाई टेवा दिने क्षेत्र भएकाले यसलाई प्रतिस्पर्धात्मक बनाउन विशेष सहुलियत दिने सरकारको सकारात्मक धारणा रहेको स्पष्ट पारे।
संघले बुझाएको ज्ञापनपत्रमा होटल व्यवसाय घाटामा पुगेको, सञ्चालन खर्च धान्न कठिन भइरहेको र विद्युत् महशुलमा उत्पादनमुखी उद्योगसरह छुटको व्यवस्था तत्काल आवश्यक रहेको उल्लेख गरिएको थियो।
संघका पदाधिकारीहरूले पर्यटन क्षेत्रले राजश्व आर्जन मात्र नभई विदेशी मुद्रा भित्र्याउने, रोजगारी सिर्जना गर्ने र नेपाल चिनाउने माध्यमका रूपमा योगदान दिइरहेको भन्दै होटल व्यवसायलाई विशेष सुविधा दिन आग्रह गरे।
सन् २०८२/८३ को बजेटमा होटल र रेस्टुरेन्टलाई उत्पादनमुखी उद्योगसरह मान्यता दिई विद्युत् महशुल छुटको व्यवस्था गर्ने घोषणा भए पनि कार्यान्वयनमा ढिलाइ भएको संघको गुनासो छ।
संघका अध्यक्ष बरालले हालको आर्थिक मन्दीबीच विजुली महशुल छुट व्यवसायीका लागि ठूलो राहत हुने विश्वास व्यक्त गरे। सो अवसरमा उपाध्यक्ष कुमार श्रेष्ठ, उपमहासचिव शिवलाल गिरी, सचिवालय सदस्य खेमराज उप्रेती र सन्जिब श्रेष्ठसहितको टोलीले मन्त्री खड्कालाई ध्यानाकर्षण गराएको थियो।






