काठमाडौं – शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित भएको शिक्षा विधेयकमा निजी विद्यालयविरुद्धका प्रावधान रहेको भन्दै निजी विद्यालय सङ्गठनहरूले भोलि (भदौ १६ गते) देशव्यापी विद्यालय बस र्याली गर्ने भएका छन् ।
प्याब्सन, नेसनल प्याब्सन, हिसान, अपेन र नेपाल मन्टेस्वरी एशोसिएसन (एनएमए) ले संयुक्त विज्ञप्ति जारी गरी आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने घोषणा गरेका हुन् । आन्दोलनलाई बल दिनका लागि सातै प्रदेश, सबै जिल्ला, पालिका कार्यसमिताका पदाधिकारी, सदस्य, विद्यालयका संस्थापक तथा प्रिन्सिपलहरूलाई सक्रिय रूपमा सहभागी हुन आह्वान गरिएको छ ।
विज्ञप्तिअनुसार काठमाडौं उपत्यकाभित्रका विद्यालय बसहरूलाई विभिन्न चोकबाट प्रवेश गरी चक्रपथ परिक्रमा गर्ने गरी रूट निर्धारण गरिएको छ । भक्तपुर, कागेश्वरी, पेप्सीकोला, तिनकुने, नरेफाट, जडीबुटी र बानेश्वर क्षेत्रका विद्यालय बसहरू कोटेश्वर चोकमा जम्मा भई सातदोबाटो हुँदै चक्रपथ परिक्रमा गर्नेछन् । ललितपुरका विद्यालय बसहरू सातदोबाटोबाट प्रवेश गरी एकान्तकुना हुँदै चक्रपथ परिक्रमा गर्नेछन् भने त्रिपुरेश्वर, टेकु, कालिमाटी र कीर्तिपुर क्षेत्रका विद्यालय बसहरू बल्खुबाट प्रवेश गरी कलंकी हुँदै चक्रपथ घुम्नेछन् ।
त्यस्तै, चन्द्रागिरि, थानकोट क्षेत्रका विद्यालय बसहरू कलंकी हुँदै सितापाइला मार्ग प्रयोग गर्ने, वाफल, सितापाइला र स्वयम्भु क्षेत्रका बसहरू हलचोक हुँदै सानोभ¥याङबाट परिक्रमा गर्ने, तारकेश्वर क्षेत्रका बसहरू बालाजु हुँदै सामाखुशीतर्फ प्रवेश गर्ने, टोखा, गोंगबु, ठमेल क्षेत्रका विद्यालय बसहरू सामाखुशी हुँदै धापासीबाट परिक्रमा गर्नेछन् ।
यस्तै, बुढानिलकण्ठ, महाराजगञ्ज, पानीपोखरी, बालुवाटारलगायतका बसहरू नारायणगोपालचोक हुँदै चावहिलतर्फ, कपन, जोरपाटी, गोकर्णेश्वर क्षेत्रका बसहरू चावहिल हुँदै गौशला मार्गतर्फ र गौशला, रातोपुल, बत्तीसपुतली, पुरानो बानेश्वर, मैतीदेवी क्षेत्रका बसहरू गौशला चोकबाट प्रवेश गरी एयरपोर्ट–सिनामंगल हुँदै चक्रपथ परिक्रमा गर्नेछन् ।
विज्ञप्तिअनुसार विद्यालय बसहरूमा व्यानर र कालो झण्डा राखिनेछ भने बस र्याली बिहान ठीक ११:३० बजे सुरु हुनेछ । र्यालीलाई व्यवस्थापन गर्ने जिम्मेवारी प्रदेश पदाधिकारी, उपत्यकाका जिल्ला अध्यक्ष तथा नगर अध्यक्षहरूलाई दिइएको छ । सबै विद्यालय बसहरूले चक्रपथलाई घडी घुम्ने दिशामा परिक्रमा गर्ने व्यवस्था गरिएको छ ।
संयुक्त विज्ञप्तिमा आन्दोलनका कार्यक्रमलाई सफल बनाउन हालसम्म गरेको योगदानप्रति आभार प्रकट गर्दै अझ बढी सक्रियता देखाउन आग्रह गरिएको छ । विज्ञप्तिमा एनएमए अध्यक्ष पवित्रा लिम्बु, अपेन अध्यक्ष बढी दाहाल, हिसान कार्यवाहक अध्यक्ष युवराज शर्मा, नेसनल प्याब्सन अध्यक्ष सुवाष न्यौपाने र प्याब्सन अध्यक्ष कृष्णप्रसाद अधिकारीले हस्ताक्षर गरेका छन् ।
तस्बिर: रूपान्तरण पोष्ट







