अपी हिमाल आरोहणका लागि १५ सदस्यीय टोली दार्चुला प्रस्थान

काठमाडौं – सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा अवस्थित अपी हिमाल पहिलो पटक आरोहण गर्न १५ सदस्यीय टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेको छ।

नेपाल पर्वतारोहण संघ (एनएमए)ले काठमाडौंमा आयोजना गरेको विशेष विदाई कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले आरोही टोलीलाई विदाई गरेका हुन्। मन्त्री पाण्डेले अपी हिमालको पहिलो आरोहण सुदूरपश्चिम प्रदेशका लागि ऐतिहासिक र सुखद क्षण भएको उल्लेख गर्दै यसले पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे।

हालै नेपाल सरकारले राजपत्रमार्फत सुदूरपश्चिम र कर्णाली प्रदेशका ९७ वटा हिमालको दुई वर्षका लागि आरोहण शुल्क छुट दिने निर्णय गरेसँगै अपी हिमाल आरोहण अभियान औपचारिक रूपमा प्रारम्भ भएको हो।

विदाई कार्यक्रममा मन्त्री पाण्डेले पर्वतारोहण नेपाललाई विश्व परिचित बनाउने साधना भएको उल्लेख गर्दै, शेर्पा तथा गैर-शेर्पा आरोहीहरूको संयुक्त प्रयासले नयाँ युगको सुरुवात हुने विश्वास व्यक्त गरे।

“यो अभियानले स्थानीयस्तरमा समन्वय र सहकार्यलाई प्रवर्द्धन गर्नुका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशको पर्यटन विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ,” मन्त्री पाण्डेले भने। अपी गाउँपालिकाबाट समेत सहभागी टोलीमा १५ जना आरोही छन्। जोखिमपूर्ण भए पनि स्थानीयलाई समेत संलग्न गरेर अघि बढाइएको यो अभियानलाई सुदूरपश्चिम प्रदेशमा पर्यटन र पर्वतारोहणको क्षेत्रमा नयाँ अवसरको रूपमा लिइएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्