काठमाडौं – सरकारले विशेष अदालतको अध्यक्षमा उच्च अदालतका न्यायाधीश सुदर्शनदेव भट्टलाई नियुक्त गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले न्याय परिषद्को सिफारिसका आधारमा भट्टलाई अध्यक्ष तोकेको हो।
न्याय परिषद्ले विशेष अदालतको अध्यक्षसहित चार जना नयाँ सदस्यहरूको नाम सिफारिस गरेको थियो। सो अनुसार उच्च अदालत वीरगञ्ज इजलासका न्यायाधीश नारायणप्रसाद पौडेल, उच्च अदालत सुर्खेतका न्यायाधीश हेमन्त रावल, जुम्ला इजलासका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र वीरगञ्ज इजलासका न्यायाधीश उमेश कोइराला विशेष अदालतका सदस्यमा तोकिएका छन्।
कानुन बमोजिम विशेष अदालतका अध्यक्ष र सदस्यहरू सरकारका तर्फबाट न्याय परिषद्को परामर्शमा नियुक्त गरिने व्यवस्था छ। सोही अनुसार शुक्रबार बसेको मन्त्रिपरिषद्ले अध्यक्ष भट्टसहित सदस्यहरूको नाम टुंगो लगाएको हो। यसअघि विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर उच्च अदालत जनकपुरमा न्यायाधीशका रूपमा सरुवा भएका छन्। हालको विशेष अदालतको न्यायाधीशहरूको सेट करिब दुई वर्ष पुरानो भएको जनाइएको छ।






