काठमाडौं – नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई संसदीय सुनुवाइ समितिको सदस्यमा लैजाने तयारी भएको छ। यसबारेको जानकारी आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले दिनेछन्। कर्मचारीको कुलिङ पिरियडसम्बन्धी गडबडीका कारण विवादमा आएपछि खतिवडाले यसअघि राज्य व्यवस्था समिति पदबाट राजीनामा दिएका थिए। खतिवडाको राजीनामापछि संसदीय सुनुवाइ समितिकी तत्कालीन सभापति ईश्वरीदेवी न्यौपानेलाई राज्य व्यवस्था समितिको सभापति बनाइएको हो।
न्यौपाने यही भदौ १० गतेदेखि राज्य व्यवस्था तथा सुशासन समितिको सभापति बनेपछि सुनुवाइ समिति सभापतिविहीन रहँदै आएको छ। प्रतिनिधि सभा नियमावलीअनुसार विषयगत समितिको सभापति पद रिक्त भएको १५ दिनभित्र निर्वाचन गर्नुपर्ने व्यवस्था छ। यस आधारमा यही भदौ २५ गतेभित्र सुनुवाइ समितिको नयाँ सभापति निर्वाचन हुनुपर्नेछ।
संघीय संसदको संयुक्त बैठक तथा संयुक्त समिति (कार्यसञ्चालन) नियमावलीका नियम २५ अनुसार सभापति पद रिक्त हुने व्यवस्था भए पनि रिक्त पदमा पुनः पदपूर्ति गर्ने स्पष्ट प्रावधान भने छैन। तर, नियमावलीको नियम ४४ अनुसार संयुक्त समितिमा नभएका व्यवस्था प्रतिनिधि सभा नियमावली बमोजिम हुने उल्लेख छ।






