धनगढी – डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ चौडमा बिहीबार बिहान जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
ठाडा बजारबाट सदरमुकाम डडेल्धुरातर्फ आउँदै गरेको उग्रतारा यातायातको से १ ज ७३८ नम्बरको जिप बिहान करिब सवा ९ बजे सडकबाट करिब ५ सय मिटर तल खस्दा दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका निमित्त प्रमुख प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार घटनास्थलमै चार जनाको मृत्यु भएको छ। मृतकमा नवदुर्गा–५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउद रहेका छन्।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराले घटनास्थलमै मृत्यु भएकाहरूको शव परीक्षणका लागि डडेल्धुरा अस्पताल पठाइएको जानकारी दिए। दुर्घटनामा अन्य चार जना घाइते भएका छन्। घाइते हुनेमा नवदुर्गा–५ की १८ वर्षीया सुशिला विक, ४ वर्षीय प्रतिका पार्की, ४८ वर्षीय चन्द्रबहादुर साउद र चालक ३५ वर्षीय रामबहादुर साउद रहेका छन्। घाइतेमध्ये सुशिला विक र चालक रामबहादुर साउदको अवस्था गम्भीर छ। उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारण भने खुलेको छैन।






