काठमाण्डौ – प्रस्तावित विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै नेपाल शिक्षक महासङ्घले नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा धर्ना दिएको छ।
महासङ्घ र सरकारबीच विगतमा भएका सहमति अनुसार विधेयकमा आवश्यक संशोधन नगरेकाले आन्दोलन सुरु गरिएको महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए। उनका अनुसार पहिलो चरणको आन्दोलनअन्तर्गत सुरु गरिएको धर्ना कार्यक्रम भदौ २० गतेसम्म जारी रहनेछ। त्यसपछि पनि माग सम्बोधन नभए भदौ २१ गते नयाँ कार्यक्रम घोषणा गरिनेछ।
महासङ्घले अस्थायी शिक्षकको पदपूर्तिमा ७५ प्रतिशत आन्तरिक प्रतिस्पर्धा र २५ प्रतिशत खुला प्रतिस्पर्धा हुनुपर्ने माग गरेको छ। तर, वर्तमान विधेयकले ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाको व्यवस्था गरेको छ।
त्यसैगरी विद्यालय कर्मचारीको पद र वेतन, बालकक्षा शिक्षकको सेवा सुविधा निश्चित नभएको, अव्यावहारिक सरुवा प्रणाली जस्ता व्यवस्थाका कारण महासङ्घ आन्दोलित भएको जनाएको छ।
विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिबाट भदौ ५ गते पारित भई हाल प्रतिनिधिसभामा पुगेको छ।






