काठमाडौँ- आज देशभर विशेष पूजा–अर्चना गरी गणेश चतुर्थी पर्व मनाइँदैछ। भाद्र शुक्ल चतुर्थीका दिन मनाइने यस पर्वमा काठमाण्डौ उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत गणेश मन्दिरमा भक्तजनको भीड लागेको छ।
शिव–पार्वतीका पुत्र गणेशलाई हरेक धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त भएकाले आजको दिन विशेष धार्मिक महत्त्व बोकेको छ। धर्मशास्त्रविद् प्राध्यापक डा. रामचन्द्र गौतमका अनुसार हरितालिका तीजको व्रत पारायण गरी गणेश व्रत गर्ने परम्परा शास्त्रीय मान्यता हो।
यस अवसरमा कतिपय भक्तहरूले गणेश चतुर्थीको व्रत बस्ने गर्छन्। नेवार समुदायमा भने यो दिन ‘छुस्यामुस्या’ अर्थात् गेडागुडी भुटेर खाने र बालबालिकालाई बाँड्ने परम्परा रहेको छ।
गणेश चतुर्थीलाई समृद्धि, सौभाग्य र बाधा–विघ्नको नाशका लागि पूजा गर्ने पर्वका रूपमा मानिन्छ।






