विराटनगर – जिल्ला कारागार मोरङको शौचालयमा एक महिला कैदी मृत फेला परेकी छन्। बुधबार बिहान महिला सेलभित्रको शौचालयमा सुनसरीको बराहक्षेत्र नगरपालिका–६ बस्ने ३२ वर्षीया राधा भट्टराई (राधिका) झुण्डिएको अवस्थामा भेटिएकी हुन्।
जेलर गौरव ढुंगेलका अनुसार भट्टराईलाई कर्तव्यज्यान मुद्दामा सुनसरी जिल्ला अदालतले २० वर्ष कैद सजाय सुनाएको थियो। उनले दुई नाबालक सन्तानसहित सप्तकोशी नदीको नहरमा हाम्फालेकी थिइन्। सो क्रममा भट्टराई र एक सन्तानको उद्धार भएको थियो भने अर्का सन्तानको मृत्यु भएपछि उनीमाथि कर्तव्यज्यान मुद्दा चलेको थियो।
२०८० साल माघ ५ गतेदेखि मोरङ कारागारमा रहेकी उनलाई जिल्ला अदालत सुनसरीले २०८१ कात्तिक ७ गते २० वर्ष कैद सजाय सुनाएको थियो। उनको मृत्युबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।







