देशभर साधारण बदली, धेरैजसो स्थानमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ – अघिल्लो दिनको तुलनामा आज मनसुन केही सक्रिय हुने पूर्वानुमान गरिएको छ । विगत केही दिनयता चर्को घाम लागिरहेकोमा आज देशभर साधारणतया बदली रहने र मध्यम वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार आज धेरैजसो स्थानमा मध्यम वर्षा हुनेछ । उनले भोलि र पर्सि गण्डकीदेखि पश्चिमका भूभागमा अझ बढी पानी पर्ने सम्भावना रहेको बताए । ‘आज धेरैजसो ठाउँमा मध्यम वर्षाको सम्भावना छ,’ दाहालले भने, ‘भोलि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका भूभागमा वर्षा अझ बढी हुनसक्छ ।’ उनका अनुसार भारी वर्षा भने सबैतिर नभई खण्ड–खण्डमा हुने देखिन्छ ।

आज बिहान महाशाखाले जारी गरेको बुलेटिनअनुसार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी प्रदेशसहितका पहाडी भूभागका केही स्थान र तराईका थोरै स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ । साथै कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ ।

आज राति पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा हुने देखिएको छ । त्यस्तै कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्