काठमाडौँ – मंगलबार सेयर बजार परिसूचक (नेप्से) सामान्य वृद्धि सहित बन्द भएको छ । नेप्सेका अनुसार आज बजार ४.८३ अङ्कले बढेर २७६६.०९ विन्दुमा पुगेर बन्द भएको हो ।
आज दिनभरमा ३२२ स्क्रिपका ९२ लाख ४३ हजार कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । परिसूचक सकारात्मक रहे पनि बजारमा गिरावट आउने कम्पनीको सङ्ख्या बढी रहेको छ । कुल कारोबारमा सहभागी भएका कम्पनीमध्ये १०१ कम्पनीको मूल्यमा वृद्धि, १४९ कम्पनीको मूल्यमा गिरावट र १ कम्पनीको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।
क्षेत्रगत सूचक हेर्दा इन्भेष्टमेन्ट, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स र निर्जीवन बीमा समूहमा गिरावट देखिएको छ भने अन्य समूहमा सानो मात्रामा वृद्धि भएको छ । सबै समूहमा उतारचढाव १ प्रतिशतभन्दा कम नै सीमित रह्यो । आज विकास हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा बढी ९.९९ प्रतिशतले बढ्यो । त्यसैगरी, नेपाल रिपब्लिक मिडियाको मूल्य ८.६१ प्रतिशत र नारायणी डेभलपमेन्ट बैंकको मूल्य ७.२८ प्रतिशतले बढेको छ ।
गिरावटतर्फ हेर्दा कुनै पनि कम्पनीमा ठूलो गिरावट देखिएको छैन । कुमारी सबल योजना म्युचुअल फण्डमा सबैभन्दा बढी ३.६६ प्रतिशतको गिरावट भएको छ । कारोबार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनी अगाडि रह्यो, जसको ४८ करोड ९५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । त्यसपछि हिमालयन रिइन्स्योरेन्स र एनआरएन इन्फास्ट्रक्चर क्रमशः उच्च कारोबार गर्ने कम्पनी बनेका छन् ।






