दार्चुला – नेपाली सेनाले निर्माण गरिरहेको तुसारपानी–तिङ्कर सडकखण्ड अन्तर्गत चालु आर्थिक वर्ष २०८२/८३ मा दुईतर्फबाट सडक निर्माण अघि बढाउने भएको छ।
नेपाली सेनाको दार्चुला–तिङ्कर सडक आयोजनाका प्रमुख सेनानी राजेश कटवालका अनुसार सरकारले चालु आवका लागि विनियोजन गरेको ६ करोड ३१ लाख रुपैयाँको बजेटमा व्यास गाउँपालिका–१, छाङ्ग्रु बाट तलतिर र वडा नं. २ को तम्बाकुबाट माथितिर सडक निर्माण गर्ने योजना रहेको छ।
वि.सं. २०७७ मा मन्त्रिपरिषद्को निर्णयअनुसार सेनाले तुसारपानीदेखि तिङ्कर भन्ज्याङसम्मको ७९ किलोमिटर सडक निर्माणको जिम्मा पाएको थियो। सो समयदेखि गत आव २०८१/८२ सम्म सेनाले १७.५ किलोमिटर सडकको ट्रयाक खोलेको छ। जसअन्तर्गत तुसारपानीदेखि तम्बाकुभिरसम्म १५.५ किलोमिटर र छाङ्ग्रु –तिपुलच्याक्ती खण्डमा २ किलोमिटर ट्रयाक खोलिएको छ।
यस वर्ष प्राप्त बजेटभित्र रहेर नयाँ ट्रयाक खोल्ने र स्तरोन्नति गर्ने काम गरिने सेनानी कटवालले जानकारी दिए। व्यास–२ आतुङ्तीदेखि कल्जुसम्मको करिब २०० मिटर सडक जोडिएपछि तम्बाकुभिरसम्म पुग्ने र त्यहाँबाट माथितिर नयाँ ट्रयाक निर्माण गर्ने योजना छ। त्यस्तै, व्यास–१ को तिपुलच्याक्ती क्षेत्रबाट तलतिर पनि ट्रयाक विस्तार गरिनेछ।
गत वैशाखमा व्यास–३ सुन्सेराबाट हेलिकोप्टरमार्फत मेसिन ढुवानी गरी छाङ्रु क्षेत्रमा सडक निर्माणलाई तीव्रता दिइएको थियो। हाल सेनाले तुसारपानी–तम्बाकु र छाङ्ग्रु –तिपुलच्याक्ती खण्डका विभिन्न स्थानमा सडक विस्तार कार्य जारी राखेको जनाएको छ।
नेपाली सेनाले दार्चुला–तिङ्कर सडकखण्डसँगै कर्णाली कोरिडोर, बेनी–आरुघाट–लार्केभन्ज्याङ र खाँदबारी–किमाथाङ्का सडक आयोजनामा समेत कार्य गरिरहेको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।







