काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल पाकिस्तान शाहीन्ससँग १ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १४४ रनको योगफल बनाएको थियो। पाकिस्तानका लागि कप्तान मोहम्मद इरफान खान नियाजीले अविजित ४२ रनको संघर्षपूर्ण पारी खेले। ७९–७ को अवस्थामा रहेका पाकिस्तानलाई इरफानले सम्हालेका थिए। नेपालका लागि सोमपाल कामीले ४ ओभरमा ३० रन खर्चिएर ३ विकेट लिए भने नन्दन यादव र दिपेन्द्रसिंह ऐरीले समान २–२ विकेट हात पारे। कुशल भुर्तेलले पनि १ विकेट लिए।
जवाफी लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १४३ रन मात्रै बनाउन सक्यो। नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ५२ रन बनाए भने दिपेन्द्रसिंह ऐरीले अविजित ४१ रनको योगदान दिए। उनीहरूले सुस्त सुरुवातपछि नेपाललाई जितको दाबीसम्म पुर्याए पनि अन्तिम ओभरमा ८ रन आवश्यक अवस्थामा ६ रन मात्र जोड्न सक्दा १ रनले पराजित भयो। यस हारसँगै नेपालको यात्रा लिग चरणमै समाप्त भएको छ।






