काठमाडौं – भारत सरकारले नेपालका दुई जलविद्युत आयोजनाबाट उत्पादन भएको ८० मेगावाट विद्युत खरिद गर्न सहमति दिएको छ । यससँगै नेपालबाट भारत र बंगलादेशमा निर्यात हुनसक्ने विद्युतको कुल क्षमता ११ सय ३० दशमलव ९ मेगावाट पुगेको छ।
नेपाल विद्युत प्राधिकरणका अनुसार यसअघि भारतलाई निर्यात अनुमति प्राप्त १०१०.९ मेगावाट र पछिल्लो पटक थपिएको ८० मेगावाट मिलेर भारतलाई मात्रै १०९०.९ मेगावाट निर्यात गर्न सक्ने स्थिति बनेको हो । यससँगै भारतको प्रसारण प्रणाली हुँदै बंगलादेशमा निर्यात भइरहेको ४० मेगावाटसमेत जोड्दा कुल निर्यात क्षमता ११३०.९ मेगावाट पुगेको हो।
प्राधिकरणले जनाएको छ, साउन २६ गते भारत सरकारले २०० मेगावाट विद्युत निर्यातका लागि अनुमति दिएको थियो भने बिहीबार थप ८० मेगावाट निर्यात गर्न सहमति दिएको हो। यसअन्तर्गत ४८.५ मेगावाट क्षमताको मेवा खोला जलविद्युत आयोजना र ३१.०४ मेगावाट क्षमताको करुवा सेती हाइड्रोपावर आयोजना समावेश छन्।
दुवै आयोजना मध्यम अवधिका लागि निर्यात अनुमति पाएका हुन्। प्राधिकरणका अनुसार यो सम्झौता २१ अगस्ट २०२५ देखि लागू भई ३१ अक्टोबर २०२६ सम्म कायम रहनेछ।






