देश राजनीतिक-सामाजिक अधोगतितर्फ, शिक्षाले मात्र उकास्न सक्छ : डा. शेखर कोइराला

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकको राजनीतिक र सामाजिक अवस्था दिनप्रतिदिन अधोगतितर्फ उन्मुख भएको बताएका छन्। काठमाडौंमा शुक्रबार ज्ञानज्योति महिला माध्यमिक विद्यालयको २०औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले सबै मिलेर सकारात्मक सोचका साथ अघि बढे मात्र देशलाई अघि बढाउन सकिने धारणा राखे।

उनले भने, “अहिले राजनीतिक मात्रै होइन, सामाजिक अवस्था पनि देशको स्खलनतिर गइरहेको छ। त्यसलाई उकास्ने जिम्मा विद्यालय, राजनीतिज्ञ र कर्मचारीले लिनुपर्छ। सकारात्मक सोचका साथ अघि बढे देशलाई अघि बढाउने कल्पना सम्भव छ।”

लोकतन्त्रमा शिक्षा नै सबैभन्दा महत्वपूर्ण पक्ष रहेको उल्लेख गर्दै डा. कोइरालाले शिक्षित समाज नै सभ्य राष्ट्र निर्माणको आधार हुने बताए। “घरमा एउटा महिला शिक्षित भए परिवार नै शिक्षित हुन्छ,” उनले जोड दिए। उनले नियम–कानून निर्माणदेखि सरकारी जिम्मेवारी र पत्रकारितासम्मका क्षेत्रमा कमजोरी देखिएको भन्दै आत्मसमिक्षा आवश्यक रहेको बताए। “सार्वजनिक विद्यालयलाई प्रवर्द्धन गर्ने हिसाबले अघि बढे हामी सफल हुन्छौं,” उनले भने।

डा. कोइरालाले शिक्षाले नै मुलुकलाई विश्वसामु चिनाउन सक्ने भएकाले शिक्षामा पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्