नेसनल प्याब्सन काठमाडौंले भाद्र ८ गते उपत्यकाव्यापी लोक नृत्य प्रतियोगिता गर्ने

काठमाडौं – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) काठमाडौं जिल्ला समितिले उपत्यकाव्यापी विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता गर्ने भएको छ। बिहिबार काठमाडौंको भेमसेनगोलास्थित जिल्ला समिति कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरी जिल्ला अध्यक्ष अमृतकुमार खड्काले विद्यार्थीको सर्वाङ्गीण विकाससँगै मौलिक भाषा, धर्म, संस्कार र संस्कृतिको संवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए। कार्यक्रम संयोजक तथा कोषाध्यक्ष टंकबहादुर थापाले प्रतियोगितामा काठमाडौं उपत्यकाका ५१ विद्यालयको सहभागिता रहने जानकारी दिए।

प्रतियोगिता आगामी २०८२ भाद्र ८ गते आइतबार नेपाल प्रज्ञा भवन, कमलादीमा हुने छ। सातौँ संस्करणको यो प्रतियोगिताको उद्घाटन कुनै एक मन्त्रीबाट गरिने आयोजकले जनाएको छ।

सहभागी विद्यालयले रु. ५,००० प्रवेश शुल्क बुझाई कक्षा ३ देखि १० सम्मका विद्यार्थीलाई समेटी ८ देखि २४ जनासम्मको समूह बनाएर बढीमा ५ मिनेटको नृत्य प्रस्तुत गर्नुपर्नेछ। विद्यालयका बाहिरी कलाकार वा विद्यार्थीलाई सहभागी गराउन पाइने छैन। प्रतियोगितामा मौलिक नेपाली लोकनृत्य मात्र प्रस्तुत गर्न पाइनेछ भने रिमिक्स गीत वा चर्या नृत्य स्वीकार गरिने छैन।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई क्रमशः रु. २५,०००, रु. २०,००० र रु. १५,००० सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। चौथोदेखि दशौं स्थानसम्मका विद्यालयलाई पनि ट्रफी र प्रमाणपत्र दिइनेछ। साथै सर्वोत्कृष्ट भेषभूषा र सर्वोत्कृष्ट नृत्य निर्देशकलाई विशेष सम्मान प्रदान गरिनेछ। सहभागी सबै विद्यालय र विद्यार्थीलाई प्रमाणपत्र दिइने छ।

प्रतियोगिताका लागि निर्णायक मण्डलमा पाँच जना लोक, संस्कृति, कला र नृत्य विज्ञ रहनेछन्। निर्णायकको निर्णय नै अन्तिम हुने आयोजकले स्पष्ट पारेको छ।

यस प्रतियोगितालाई ट्रिटन इन्टरनेशनल सेकेन्डरी स्कूल तथा कलेज र डोंगफेग त्रीबेनी मोटोकर्पले प्रायोजन गरेका छन् । साथै काठमाडौं, कागेश्वरी, टोखा, गोकर्णेश्वर, बुढानिलकण्ठ, तारकेश्वर र नागार्जुन नगर समितिहरुको प्रत्यक्ष सहयोग रहेको छ। पत्रकार सम्मेलनमार्फत आयोजकहरूले सम्पूर्ण विद्यालय, विद्यार्थी, अभिभावक र सरोकारवालालाई कार्यक्रममा सहभागी भई मौलिक संस्कृतिको संरक्षणमा योगदान दिन आह्वान गरेका छन्।

बिहबिार आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष प्रेम कुमार भुजेल, समिर बास्तोला, नारायण तिमल्सीना, सचिव रामबाबु सेढाई, कोषाध्यक्ष टंक बहादुर थापा, सहसचिव शिवराम गिरी, काठमाडौँ महानगर समिति सचिव लगायतका प्रतिनिधि सहभागी रहेका थिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्