नयाँ शिक्षा ऐनलाई सर्वस्वीकार्य बनाउन संवादको आह्वान – नेसनल प्याब्सन

काठमाडौं – दशकौँपछि आउन लागेको विद्यालय शिक्षा ऐन संसदको शिक्षा, विज्ञान तथा प्रविधि समितिमा छलफल भइरहेको बेला निजी विद्यालयहरूको प्रक्रियालाई यथावत राख्दै विधेयक अघि बढाइएकोमा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) ले स्वागत गरेको छ।

नेसनल प्याब्सनले आज एक विज्ञप्ति जारी गर्दै शिक्षा मन्त्रालय, समितिका सभापति, सम्पूर्ण सदस्य र प्रतिपक्षी सांसदहरूलाई धन्यवाद दिएको छ। विज्ञप्तिमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएका निजी विद्यालयहरूलाई वर्तमान सञ्चालन प्रक्रियाअनुसारै अघि बढाउने व्यवस्थालाई सकारात्मक भन्दै त्यसप्रति आभार प्रकट गरिएको छ।

प्याब्सनले विद्यालयहरूको श्रेणीकरण (क, ख, ग, घ) अनुसार शुल्क स्वीकृति र १० प्रतिशत छात्रवृत्ति प्रदान गर्ने प्रावधानलाई निरन्तरता दिइरहेको स्पष्ट पारेको छ। तर “पूर्ण छात्रवृत्ति”को प्रावधानले शुल्क संरचनामा असन्तुलन ल्याउन सक्ने भएकाले त्यसले विशिष्ट श्रेणीबाहेकका अभिभावकलाई थप भार पर्न सक्ने चेतावनी दिएको छ।

विज्ञप्तिमा भनिएको छ, “शिक्षा सेवामूलक व्यवसाय भएकोले कर तथा अन्य शुल्क छुटको व्यवस्था भए मात्र शुल्क वृद्धिको प्रभाव न्यून हुन्छ। अहिले पनि निजी विद्यालयमा ३४ प्रतिशतभन्दा बढी विद्यार्थी अध्ययनरत छन् तर सबै विद्यालयको क्षमता र संरचना फरक भएकाले सामाजिक सुरक्षा कोषजस्ता कार्यक्रम सबैमा अनिवार्य गर्नु व्यवहारिक हुँदैन।”

त्यस्तै, उच्च शिक्षा छात्रवृत्ति निर्देशिका निजी विद्यालयका विद्यार्थीप्रति विभेदकारी भएकाले तत्काल संशोधन आवश्यक रहेको नेसनल प्याब्सनको भनाइ छ।

संघले आफूलाई विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीसँगै मुलुकको शिक्षा विकासमा जिम्मेवार संस्था रहेको जनाउँदै विद्यालय क्षेत्रलाई “शान्ति क्षेत्र” बनाउन सदैव प्रतिवद्ध रहेको बताएको छ। विज्ञप्तिमा विद्यालय बन्द तथा हड्तालको विपक्षमा रहने आफ्नो अडान दोहोर्याइएको छ।

“समस्या समाधानका लागि आन्दोलन हाम्रो लक्ष्य होइन,” विज्ञप्तिमा भनिएको छ, “बरु, संवाद, छलफल र अन्तरक्रियामार्फत शिक्षा क्षेत्रलाई सबै सरोकारवालाको सर्वस्वीकार्य बनाउनुपर्ने आवश्यकता छ।”

नेसनल प्याब्सनले लामो समयपछि आउन लागेको विद्यालय शिक्षा ऐन मुलुकको शिक्षा क्षेत्रमा ‘कोशेढुङ्गा’ सावित होस् भन्ने अपेक्षा राखेको छ। साथै, विद्यालय सञ्चालक तथा सम्पूर्ण सदस्य विद्यालयलाई अन्यौलमा नरही शैक्षिक क्रियाकलापलाई निरन्तरता दिन आह्वान गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्