काठमाडौँ – विद्यालय शिक्षा सम्बन्धी विधेयक–२०८० माथि छलफल गर्न संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दै छ। निजी विद्यालय सञ्चालक संस्था नेशनल प्याब्सन र प्याब्सनले विधेयकप्रति असहमति जनाउँदै आन्दोलन चर्काइरहेको बेला समितिको बैठकलाई विशेष महत्त्वका साथ हेरिएको छ।
दुवै संस्थाले ५ बुँदे माग अघि सारेका छन्। उनीहरूले ‘पूर्ण छात्रवृत्ति’ शब्द खारेज गर्नुपर्ने, विद्यालयलाई गैरनाफामूलक बनाउने प्रावधान हटाउनुपर्ने, पोसाक तथा स्टेशनरी उपलब्ध गराउनुपर्ने व्यवस्था हटाउनुपर्ने लगायतका माग राखेका छन्।
माइतीघर मण्डलादेखि नयाँबानेश्वर चोकसम्म आज बिहान ११ देखि १ बजेसम्म प्रिन्सिपलहरूले ब्यानरसहित र्याली र कोणसभा गर्ने कार्यक्रम तय गरिएको छ। यस्तै, भदौ ६ गते देशभर स्कुल बससहित नगर परिक्रमा गर्ने तथा काठमाडौँको चक्रपथ वरिपरि कालो झन्डा/ब्यानरसहित र्याली गर्ने घोषणा गरिएको छ। माग सम्बोधन नभए भदौ ८ गतेदेखि निर्णायक आन्दोलनमा जाने चेतावनी उनीहरूले दिएका छन्।
यसैबीच, शिक्षक महासंघले पनि विधेयकमा समावेश गर्न लागिएको कतिपय प्रावधानप्रति असहमति जनाएको छ र आन्दोलनको चेतावनी दिएको छ। यस्तो परिस्थितिमा आज बस्न लागेको शिक्षा समितिको बैठकमा के निर्णय हुन्छ भन्ने प्रश्नप्रति अभिभावकदेखि सरोकारवालासम्मको नजर केन्द्रित भएको छ।






