देशभर डेंगु संक्रमित ३ हजार नाघ्यो, दुईजनाको मृत्यु

काठमाडौं – देशभर डेंगु संक्रमितको संख्या ३ हजार नाघेको छ । गत पुस मध्यदेखि हालसम्म ३ हजार १३० जनामा डेंगु संक्रमण पुष्टि भएको र दुईजनाको ज्यान गएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ ।

ईडीसीडीका पछिल्ला तथ्यांकअनुसार डेंगु ७४ जिल्लामा फैलिएको छ । पछिल्लो एक सातामात्र १९८ नयाँ संक्रमित थपिएका छन् । प्रदेशगत विवरणअनुसार बागमती प्रदेशमा ३०३, कोशीमा ४७, गण्डकीमा २९, सुदूरपश्चिममा २४, लुम्बिनीमा २२, मधेशमा १८ र कर्णालीमा ६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

नेपालमा पहिलो पटक सन् २००४ मा डेंगुका बिरामी भेटिएका थिए । त्यसयता हरेक वर्ष डेंगुको संक्रमण देखिँदै आएको छ । तराईमा मात्र हुने भनिएको यो रोग पछिल्ला वर्षहरूमा पहाड हुँदै हिमालसम्म फैलिएको जनस्वास्थ्यविद्हरू बताउँछन् ।

विज्ञका अनुसार बढ्दो तापक्रम, जनघनत्व, अव्यवस्थित शहरीकरण, जलवायु परिवर्तन, लामो बर्खा र लामखुट्टेमा कम तापक्रममा बाँच्न सक्ने क्षमताको विकासले डेंगु नियन्त्रण चुनौती बनेको छ । सामान्यतया एडिज जातका लामखुट्टे दिउँसो मात्र टोक्ने भएकाले संक्रमण फैलिने सम्भावना उच्च हुने गर्दछ ।

डेंगु नियन्त्रणका लागि सबैभन्दा प्रभावकारी उपाय ‘खोज तथा नष्ट अभियान’ रहेको विज्ञहरूको भनाइ छ । यसका लागि घर वरिपरि पानी जम्न नदिने, गमला, टायर, ड्रम, बट्टा जस्ता भाँडाहरू सफा राख्ने र ट्याङ्की छोपेर राख्नुपर्ने चिकित्सकको सुझाव छ । साथै दिउँसो पनि पूरा बाहुला भएको लुगा लगाउने, सुत्दा झुल प्रयोग गर्ने, साना केटाकेटीलाई सधैं झुलभित्र सुताउने, झ्याल–ढोकामा जाली लगाउने तथा लामखुट्टे भगाउने मलम प्रयोग गर्न सकिने बताइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्