काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशमा आइपरेका चुनौतीहरूको समाधान कांग्रेसले मात्र गर्न सक्ने दाबी गरेका छन् ।
प्रजातन्त्र सेनानी नन्दप्रसाद शिवाकोटी स्मारिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रिय शक्ति भएकाले कांग्रेसले चुनावलाई महत्त्वपूर्ण ठान्नुपर्ने बताए । थापाले भने, “चुनाव जित्ने आकाङ्क्षा राख्नुलाई स्वाभाविक रूपमा लिनुपर्छ । तर, सबै कुरा त्यो होइन । सत्तामा पुग्ने कुरा पनि सशर्त हो, निशर्त होइन । हाम्रा आधारभूत मूल्य र मान्यतासँग सम्झौता गरेर प्राप्त भएको सत्ताको कुनै अर्थ रहँदैन ।”
उनले कांग्रेसको आस्था, सिद्धान्त, विचार र मूल्यमान्यतालाई सम्झौतामा राखेर सत्तामा टिकिरहन नसक्ने स्पष्ट गरे । लोकतन्त्रमा संख्याको आधारमा निर्णय लिन सकिने भन्दै थापाले भने, “संख्या छ भनेर जे पनि गर्न पाइँदैन । संसद्मा होस् वा पार्टीमा, संख्याको आधारमा गरिने निर्णय वैधानिक हुन्छ । तर, बहुमत छ भनेर मात्रै गरिएको निर्णय आम पार्टी पंक्तिले स्वीकार्छ कि स्वीकार्दैन भन्ने कुरामा ध्यान दिनुपर्छ ।”
उनले कुनै पनि निर्णय वैध बनाउन समाज र कार्यकर्ताले स्वीकार गर्नु जरुरी हुनेमा जोड दिए ।






