नाडा अटो शो २०२५ आजदेखि काठमाडौंमा सुरु

काठमाडौं – नेपालको अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो प्रदर्शनी ‘नाडा अटो शो २०२५’ आजदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ। नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको आयोजनामा र युनिट्रीको मुख्य प्रायोजनमा आजदेखि ८ गतेसम्म चल्ने यस प्रदर्शनीको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन्। ‘Go for More’ भन्ने नारासहित आयोजित प्रदर्शनीमा १२ वटा चारपाङ्ग्रे, २३ वटा दुईपाङ्ग्रे ब्राण्डसहित १०० भन्दा बढी अटोमोबाइल, पार्टपुर्जा, लुब्रिकेन्ट, ग्यारेज उपकरण र वित्तीय सेवा प्रदायकहरू सहभागी भएका छन्। करिब १५ हजार वर्गमिटर क्षेत्रमा फैलिएको प्रदर्शनी अवलोकन गर्न आयोजकले ३ लाखभन्दा बढी दर्शक आउने अपेक्षा गरेको छ।

यस वर्षको अटो शोमा चिनियाँ कम्पनी चांगन र इह्याङको सहकार्यमा बनेको उड्ने कार र युनिट्रीको अटोनोमस रोबोट विशेष आकर्षण बनेका छन्। साथै, दुर्लभ पुराना सवारीसाधन प्रदर्शन हुने “विन्टेज मोटर शो”, स्वदेशमै बनेका पार्टपुर्जासहितको “Made in Nepal Pavilion” र अन्तर्राष्ट्रिय व्यवसायिक सहकार्य प्रस्तुत गर्ने “International Business Pavilion” पनि प्रदर्शनीमा समावेश छन्।

६ दिनसम्म चल्ने प्रदर्शनीमा नयाँ मोडलका विद्युतीय गाडी सार्वजनिक गरिने, प्रविधि तथा नीतिसम्बन्धी सेमिनार र अन्तरक्रिया कार्यक्रम हुने नाडाले जनाएको छ। कार्यक्रमलाई सफल बनाउन शिखर इन्सुरेन्स, क्याम्पा कोला, याङ्गो, वर्ल्डलिंक, किष्ट अस्पताललगायत संस्थाहरूले सहकार्य गरेका छन्। प्रदर्शनीको टिकटिङ ‘खल्ती बाइ आईएमई’ मार्फत हुने र अग्रिम खरिदमा छुट उपलब्ध हुनेछ।

नाडाका अध्यक्ष करण चौधरीले अटो शोले अटोमोबाइल उद्योगमा व्यवसायिक सम्भावना, प्रविधि हस्तान्तरण र स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न टेवा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्। नाडा अटो शो २०२५ ले नेपालमा तीव्र गतिमा भित्रिइरहेका नयाँ प्रविधि प्रस्तुत गर्नुका साथै व्यवसायी, उपभोक्ता र नीति निर्माता सबैलाई एउटै मञ्चमा जोड्ने अवसर दिने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्