काठमाडौं – तपस्वीको भेष धारण गर्ने रामबहादुर बमजनलाई उच्च अदालत जनकपुरले दिएको सफाइविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ । सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार पुनरावेदन सोमबार नै दर्ता भएको हो ।
उच्च अदालत जनकपुरका न्यायाधीश नरिश्वर भण्डारी र खेमराज भट्टको इजलासले चैत ६ गते बमजनलाई बाल यौन दुरुपयोग मुद्दामा सफाइ दिएको थियो । यसअघि जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले २०८१ असार १७ गते बमजनलाई १० वर्ष कैद र पीडितलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति गर्ने फैसला सुनाएको थियो ।
महान्यायाधिवक्ता कार्यालयले उच्च अदालतको फैसला त्रुटिपूर्ण रहेको भन्दै बदर गर्नुपर्ने तर्क गरेको छ । बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ७४ अनुसार हदम्याद पीडित १८ वर्ष पुग्दासम्म र त्यसपछि थप एक वर्षसम्म कायम रहने व्यवस्था रहेको तर उच्च अदालतले उक्त प्रावधानलाई बेवास्ता गरेको भन्दै पुनरावेदन पेस गरिएको हो ।
पीडित गंगामाया १३ वर्षको उमेरमा बमजनको आश्रममा पुगेकी थिइन् । २०७३ साउन २० गते राति बलात्कारको आरोप लागेपछि उनले दुई वर्षपछि २०७५ भदौमा पत्रकार सम्मेलनमार्फत घटना सार्वजनिक गरेकी थिइन् । सुरुमा प्रहरी प्रशासनले हदम्याद गुज्रिएको भन्दै उजुरी दर्ता नगरे पनि नयाँ कानुन कार्यान्वयनसँगै बमजनविरुद्ध मुद्दा दायर गरिएको थियो ।
बमजन हाल थुनामा रहेका छन् । उनलाई प्रहरीले २०८० पुसमा बुढानीलकण्ठबाट पक्राउ गर्दा करोडौँ नगद र विभिन्न देशका विदेशी मुद्रासहित बरामद गरिएको थियो । अहिले उनीविरुद्ध करोडौँ बिगो दाबीमा मुद्दा पनि चलिरहेको छ ।






