काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली समाजभित्र असन्तुष्टिको आगो तीव्र रूपमा फैलिएको बताएका छन्। सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै उनले जनतामा रहेको रिस, आक्रोश र असन्तुष्टिलाई केही समूहले पेट्रोल–मट्टितेल हालेर अझ दन्दनी बाल्ने काम गरिरहेको आरोप लगाए।
‘यो बेलामा नेपाली समाजभित्र पूरा असन्तुष्टि छ, आगो बलेको जस्तो छ,’ थापाले भने, ‘जताततै रिस, आक्रोश देखिन्छ। तर केहीले त्यसमा मट्टितेल खन्याएर दन्दनी बालिरहेका छन्।’
तर उनले असन्तुष्टि बढाउनेहरूमाथि मात्रै प्रश्न गरेर समस्याको समाधान नहुने स्पष्ट पारे। समाजमा असन्तुष्टि किन उत्पन्न भएको हो भन्ने वास्तविक कारण पहिचान गरी त्यसलाई काम र परिणामबाट मात्र निभाउन सकिने उनको भनाइ थियो। ‘असन्तुष्टिको आगो किन बलिरहेको छ भन्ने बुझ्नुपर्छ,’ थापाले जोड दिए, ‘त्यो बुझेर समाधान गर्ने जिम्मेवारी हाम्रो हो। कांग्रेससँग त्यस्तो तागत छ।’
थापाले पार्टीले परिणाममुखी कार्यमार्फत मात्र जनतामा बढ्दो आक्रोशलाई शान्त पार्न सक्ने दाबी गर्दै कांग्रेस त्यसका लागि तयार रहेको बताए।






