काठमाडौं – काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थलमा धुम्रपान गर्नेहरूबाट जरिवाना असुल गर्न थालेको छ। आइतबारदेखि सुरु गरिएको कारबाहीअन्तर्गत हालसम्म १७ जनाले ५ सय रुपैयाँका दरले जरिवाना तिरेको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।
उनका अनुसार पहिलो दिनमै ८ हजार ५०० रुपैयाँ जरिवाना उठाइएको हो। नगर प्रहरीले जरिवाना तत्काल क्युआर स्क्यान वा नगदमार्फत असुल गर्ने व्यवस्था गरेको छ।
महानगरका सहप्रवक्ता ध्रुव काफ्लेले यो कारबाही सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन) ऐन २०६८ कार्यान्वयनको हिस्सा मात्र भएको बताए। उनका अनुसार सार्वजनिक स्थलमा धुम्रपानले अन्य व्यक्ति र बालबालिकालाई असर गर्ने भएकाले तोकिएको स्थान बाहेक धुम्रपान नगर्न आग्रह गरिएको छ।






