काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजमा नेपालले लगातार तेस्रो पराजय व्यहोरेको छ। सोमबार भएको खेलमा मेलबर्न स्टार्स एकेडेमीले नेपाललाई ३१ रनले पराजित गरेको हो।
टस हारेर बलिङ रोजेको नेपालले मेलबर्नलाई २० ओभरमा ७ विकेटमा १७५ रनमै रोक्थ्यो। मेलबर्नका लागि ब्लेक म्याकडोनाल्डले ७४ रन र थोमस रोजर्सले ६५ रनको योगदान दिएका थिए। यी दुईले दोस्रो विकेटका लागि १२० रनको शतकीय साझेदारी गर्दै टोलीलाई ठोस आधार दिएका थिए। कप्तान क्याम्पबेल केलावे भने २ रनमै आउट भएका थिए। नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए भने सोमपाल कामी र शाहब आलमले १–१ विकेट हात पारे।
जवाफी ब्याटिङमा उत्रिएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १४४ रन मात्र बनाउन सक्यो। ओपनर आसिफ शेखले ४९ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ५३ रनको अर्धशतक बनाए। कप्तान रोहित पौडेलले ३१ बलमा ३ चौकासहित ३३ रन जोडे भने कुशल भुर्तेलले १३ बलमा २५ रन बनाएका थिए।
नेपालका लागि ओपनरद्वय आसिफ र कुशलले पहिलो विकेटका लागि ३० रनको साझेदारी गरेका थिए। तर, कुशल आउट भएलगत्तै भिम शार्की पनि १ रनमा पाभेलियन फर्किए। त्यसपछि आसिफ र रोहितले ८७ रनको साझेदारी गर्दै पारी सम्हाल्ने प्रयास गरे तर लगातार दुवै खेलाडी आउट भएपछि नेपाल दबाबमा पर्यो। कुशल मल्ल ११ र दीपेन्द्र सिंह ऐरी १ रनमा आउट भएपछि नेपालको जितको आशा क्षीण भयो।
मेलबर्नका बलर अस्टिन अन्लेजार्क र डग वारेनले २–२ विकेट लिए। यसअघि नेपाल पहिलो खेलमा एनटी स्ट्राइक र दोस्रो खेलमा बंगलादेश ‘ए’सँग पराजित भएको थियो। अब नेपालले आगामी खेलमा होबार्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स र पाकिस्तान शाहीन्ससँग प्रतिस्पर्धा गर्नेछ।






