काठमाडौँ – करिब साढे दुई वर्षअघि महामारीको रूपमा फैलिएको लम्पी स्किन रोग अहिले फेरि तीव्र बन्दै गएको छ। पशु सेवा विभागका अनुसार साउन २६ सम्ममा देशका ३३ जिल्लामा लम्पी फैलिसकेको छ। अहिलेसम्म ३१ हजार ३ सय ६४ पशु संक्रमित भएका छन् भने १ हजार ५० पशुको मृत्यु भएको छ।
झापाको मेचीनगरका केही गाउँमा देखिएको लम्पी अहिले तीव्र रूपमा फैलिँदै गएको विभागका अधिकारीले बताएका छन्। “सुदूरपश्चिमबाहेक सबै प्रदेशमा रोग फैलिसकेको छ। तत्काल नियन्त्रणमा नआए फेरि विगतकै जस्तो महामारी दोहोरिन सक्छ,” एक अधिकारीले भने।
लम्पी स्किन रोग भैँसीमा लाग्ने विषाणुजन्य रोग हो। लामखुट्टे, झिँगा, किर्ना, भुसुना जस्ता परजीवीको टोकाइबाट यसले छिट्टै सर्ने गर्छ। संक्रमित पशुलाई अन्यत्र लैजाँदा प्रत्यक्ष सम्पर्कबाट पनि रोग सर्ने भएकाले संक्रमण अझै तीव्र भएको विशेषज्ञहरूले बताएका छन्।
नेपाल पशु चिकित्सा परिषद्का उपाध्यक्ष मनोजकुमार शाहीका अनुसार तथ्याङ्कअनुसार एक पशुमा रोग लाग्दा औसत ४९ हजार रुपैयाँ नोक्सान हुने देखिएको छ। “३१ हजारभन्दा बढी पशु संक्रमित भएकाले अर्बौंको नोक्सान हुने अवस्था छ,” उनले भने।
प्रदेशगत अवस्था
-
कोशी प्रदेश : सबैभन्दा बढी प्रभावित। ओखलढुंगा र सोलुखुम्बु बाहेकका सबै जिल्लामा संक्रमण, २४ हजार ८६१ पशु प्रभावित, ७६९ पशु मृत्यु।
-
मधेश प्रदेश : सबै जिल्लामा रोग फैलिएको, ४ हजार ४९४ संक्रमित, १७९ मृत्यु।
-
बागमती : मकवानपुर, सिन्धुली, काभ्रे, चितवन, धादिङमा १ हजार ७९८ संक्रमित, ९२ मृत्यु।
-
गण्डकी : गोरखा र नवलपरासीमा ६१ संक्रमित, ४ मृत्यु।
-
लुम्बिनी : पाँच जिल्लामा १४२ संक्रमित, ६ मृत्यु।
-
कर्णाली : रुकुम पश्चिममा ८ संक्रमित।
-
सुदूरपश्चिम : अहिलेसम्म रोग पुष्टि भएको छैन।
गत जेठयता ७ लाख ६७ हजारभन्दा बढी खोप वितरण भएको विभागले जनाएको छ। कोशीमा सबैभन्दा बढी (३ लाख ३७ हजार) खोप लगाइएको छ भने मधेशमा १ लाख ६७ हजार, गण्डकीमा १ लाख ३० हजार, बागमतीमा ९४ हजार, लुम्बिनीमा ३७ हजार र कर्णालीमा ५ सय खोप वितरण भएको छ।
तीन महिनामा १७ हजार ९८२ पशु उपचारपछि निको भए पनि अझै १२ हजार ७३२ संक्रमित अवस्थामा रहेको विभागले जनाएको छ।
नेपालमा पहिलोपटक २०७७ असारमा लम्पी रोग देखिएको थियो। २०७९ चैतमा फेरि महामारीका रूपमा फैलिँदा सात महिनामै ६५ हजारभन्दा बढी पशुको मृत्यु भएको थियो।






