काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले हमासले बन्धक बनाएका नेपाली नागरिक विपिन जोशीको सुरक्षित रिहाइका लागि सरकार हरसम्भव पहलमा जुटिरहेको बताएका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीले विपिनको सुरक्षालाई सरकारले प्राथमिकतामा राखेको स्पष्ट पारे।
“विपिन जोशीको शीघ्र रिहाइ सुनिश्चित गर्नु सरकारको जिम्मेवारी हो। इसराइलस्थित हाम्रो दूतावासको समन्वयमा विपिनकी आमा पद्मा र बहिनी पुष्पाले राष्ट्रपति इसहाक हर्गोग र संसद अध्यक्ष अमिर ओहानासँग भेट गरी पहलको आग्रह गर्नुभएको छ। यसअघि मैले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान (चैत ७ गते) र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिल (फागुन २८ गते)सँग फोन संवाद गरी यस विषयमा ध्यानाकर्षण गराएको थिएँ,” प्रधानमन्त्री ओलीले बताएका छन्।
उनका अनुसार परराष्ट्र मन्त्रालयले पनि खाडी क्षेत्रका दूतावासमार्फत निरन्तर संवाद गर्दै विपिनको शीघ्र रिहाइका लागि कूटनीतिक पहल गरिरहेको छ।
प्रधानमन्त्री ओलीले इसराइलमा सहयोग गरिरहेका नेपाली, स्थानीय नागरिक, पत्रकार, सुरक्षाकर्मी र सामाजिक अभियन्ताप्रति आभार प्रकट गर्दै भनेका छन् – “विपिनका परिवारको साथमा सरकार छ, हामी उनको सुरक्षित रिहाइका लागि निरन्तर प्रयासरत छौँ।”






