युरोपेली नेताहरुसहित अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेट्दै युक्रेनी राष्ट्रपति जेलेन्स्की

वाशिङ्टन – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ह्वाइट हाउसमा भेटवार्ता गर्दैछन्।

गत शनिबार ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग करिब तीन घण्टा लामो वार्ता गरेका थिए। सो वार्तामा युद्धविराम र सम्भावित सम्झौता प्रक्रियाबारे छलफल भएको थियो। ट्रम्पले सोही विषयमा जेलेन्स्कीलाई जानकारी दिने बताइएको छ।

जेलेन्स्कीले यसअघि ह्वाइट हाउसमा ट्रम्पसँगको भेटमा तिक्त अनुभव लिइसकेका थिए। गत फेब्रुअरीमा खनिज सम्झौताका लागि भएको भेटमा ट्रम्प र उनका उपराष्ट्रपति जेडी भान्सबीच चर्काचर्की भएको थियो। त्यसयता औपचारिक भेट हुन सकेको छैन। त्यसपछि इटालीमा पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागी हुँदा मात्र दुवैले करिब १५ मिनेट एक्लाएक्लै भेट गरेका थिए।

अमेरिकी अधिकारीहरूका अनुसार सोमबारको वार्ता सकारात्मक भए नजिकै ट्रम्प, पुटिन र जेलेन्स्कीबीच त्रिपक्षीय वार्ता तय हुनेछ। अर्को साताभित्रै सो भेटको तयारी गर्ने सम्भावना रहेको जनाइएको छ।

यसपटक फेब्रुअरीको विवादास्पद अनुभव दोहोरिन नदिने उद्देश्यले युरोपेली नेताहरू समेत ह्वाइट हाउसको भेटमा सहभागी हुनेछन्। ब्रिटिश प्रधानमन्त्री केअर स्टार्मर, जर्मन चान्स्लर फ्रेडरिक मर्ज, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रों, इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनी, युरोपेली संघ प्रमुख उर्सुला भोन देर लेयन, फिनल्याण्डका राष्ट्रपति अलेक्जेन्डर स्टब र नेटो महासचिव मार्क रुट्टे वाशिङ्टन पुग्ने कार्यक्रम छ।

तर अमेरिकी उपराष्ट्रपति जेडी भान्सले युरोपेली नेताहरूको उपस्थितिलाई पुटिनमाथि धम्कीको रूपमा नहेर्न आग्रह गरेका छन्। “जेलेन्स्कीलाई दबाबमा पार्न वा उनीमाथि हाबी हुन युरोपेली नेताहरू आएका होइनन्,” उनले स्पष्ट पारे।

फ्रान्सेली राष्ट्रपति म्याक्रोंले भने युरोपले भविष्यमा सम्भावित द्वन्द्व रोक्न रूसप्रति कडा रहनुपर्ने आवश्यकता औंल्याए। उनले भने, “आज हामी रूससँग कमजोर भयौं भने भोलि ठूलो द्वन्द्वको तयारी गरिरहेका हुन्छौं। त्यसैले युरोपले आफ्ना हितहरूको रक्षा गर्न र युक्रेनलाई सहयोग गर्न बलियो बन्नैपर्छ।” म्याक्रोंले युरोप युक्रेनसँग सम्बन्धित सुरक्षा ग्यारेन्टी लिन तयार रहेको स्पष्ट पारे। तर तेस्रो पक्षको दबाबमा युक्रेनलाई भूमि त्याग गर्न बाध्य पार्ने कुनै पनि पहल अस्वीकार्य हुने उनको भनाइ छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्