काठमाडौँ – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शुक्रबार पाँच मन्त्री नियुक्त गरेका छन् । २० साउनमा आफूसहित आठ मन्त्री नियुक्त गरेका बानियाँले दोस्रो चरणमा आफ्नै दल कांग्रेसका पाँच जनालाई मन्त्री बनाउँदै १४ सदस्यीय मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । उनले कांग्रेसको बहादुर लामा समूहबाट मन्त्री बन्ने माैका कसैलाई दिएनन् ।
मुख्यमन्त्री बानियाँले शुक्रबार नियुक्त गरेका नयाँ मन्त्रीहरूमा कञ्चनचन्द्र बादे (सामाजिक विकास मन्त्रालय), प्रभात तामाङ (आर्थिक मामिला तथा योजना मन्त्रालय), उर्मिला केसी नेपाल (युवा तथा खेलकुद मन्त्रालय), सुरेश श्रेष्ठ (संस्कृति तथा पर्यटन मन्त्रालय), बिनु रायमाझी पौडेल (सहकारी तथा गरिबी निवारण मन्त्रालय) छन् ।
यसअघि २० साउनमा कांग्रेसबाट कृष्ण तामाङलाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको थियो भने शिवराज अधिकारी बिनाविभागीय मन्त्रीको रूपमा नियुक्त भएका थिए । पछि अधिकारीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाए ।
त्यसैदिन नेकपा (एमाले) तर्फबाट मधुसुदन पौडेल (कृषि तथा पशुपन्छी विकास), डा. दिनेशचन्द्र देवकोटा (भौतिक पूर्वाधार विकास), भरत केसी (वन तथा वातावरण), जयरथ थापा (श्रम, रोजगार तथा यातायात), र बिन्दु श्रेष्ठ (उद्योग, वाणिज्य, भूमि तथा प्रशासन) लाई मन्त्री नियुक्त गरिएको थियो । एक वर्षअघि गठन भएको कांग्रेस–एमाले संयुक्त सरकारको प्रारम्भिक भागवण्डाअनुसार दुवै दलले ६–६ मन्त्रालय पाएका थिए ।






