भारतको ७९औँ स्वतन्त्रता दिवस विविध कार्यक्रम गरि मनाइदैँ, नेपाल-भारत सम्बन्धमा नयाँ उचाइ

काठमाडौं – भारतको ७९औँ स्वतन्त्रता दिवसको अवसरमा नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाली जनतासँगको ऐतिहासिक, सांस्कृतिक र आर्थिक सम्बन्धलाई अझ मजबुत बनाउन भारत प्रतिबद्ध रहेको बताएका छन्। राजदूतावासमा आयोजित विशेष कार्यक्रममा उनले ‘सबका साथ, सबका विकास, सबका विश्वास, सबका प्रयास’ भन्ने भारतको मार्गदर्शक सिद्धान्त नेपाल-भारत सम्बन्धमा समेत झल्किएको उल्लेख गरे।

राजदूत श्रीवास्तवका अनुसार दुवै देशबीच सहस्राब्दी पुरानो सभ्यतागत सम्बन्धलाई आधुनिक साझेदारीमा रूपान्तरण गर्ने क्रममा ऊर्जा, पूर्वाधार, व्यापार, पर्यटन, कृषि, स्वास्थ्य, शिक्षा, स्टार्टअप, अन्तरिक्ष र खेलकुदजस्ता क्षेत्रमा उल्लेखनीय प्रगति भएको छ। उनले रेल, सडक, पेट्रोलियम पाइपलाइन, एकीकृत जाँच चौकीलगायत पूर्वाधार परियोजनाहरू द्रुत गतिमा अघि बढिरहेको बताए।

गत वर्ष मात्र दुवै मुलुकका प्रधानमन्त्रीदेखि मन्त्रीस्तरीय भ्रमण, उच्चस्तरीय बैठक र महत्वपूर्ण सम्झौताहरू सम्पन्न भएका छन्। बिमस्टेक शिखर सम्मेलन, रायसिना डायलग, सगरमाथा संवादजस्ता मञ्चमा दुई मुलुकबीच ऊर्जा, कृषि, खानेपानी, सरसफाइ तथा स्वच्छता, डिजिटल भुक्तानी प्रणाली र रक्षा सहकार्यका विषयमा सहमति भएको छ।

ऊर्जा क्षेत्रमा, नेपालबाट भारत हुँदै बंगलादेशसम्म विद्युत् निर्यात गर्ने प्रबन्ध, नयाँ जलविद्युत् परियोजना र प्रसारण लाइन विस्तारका सम्झौता, पावरग्रिड र नेपाल विद्युत् प्राधिकरणबीच एमओयू हस्ताक्षर महत्त्वपूर्ण उपलब्धि हुन्। खेलकुदमा, नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोली र आशालाग्दा यू–१९ खेलाडीको भारतमा प्रशिक्षणले द्विपक्षीय सांस्कृतिक सम्बन्धमा नयाँ आयाम थपेको छ।

सांस्कृतिक आदानप्रदानमा, बुद्ध पूर्णिमा, योग दिवस, आषाढ पूर्णिमा, चित्रकला प्रदर्शनी र पूर्व विद्यार्थी भेटघाट कार्यक्रमले जनस्तरको मित्रता गहिरो बनाएको छ। शिक्षा क्षेत्रमा, १,५०० भन्दा बढी नेपाली विद्यार्थीलाई भारतले विभिन्न तहमा छात्रवृत्ति प्रदान गरेको छ।

राजदूत श्रीवास्तवले प्राकृतिक प्रकोपका बेला भारतले नेपाललाई दिएको तात्कालिक राहत र स्वास्थ्य सहायताको पनि स्मरण गर्दै, भविष्यमा समेत आपसी विश्वास र सहयोगका साथ अघि बढ्ने प्रतिवद्धता जनाए।

“हाम्रो मित्रता, साझेदारी र पारस्परिक विश्वासले दुवै देशको उज्ज्वल भविष्य निर्माण गर्नेछ,” उनले भने, “भारत नेपालको प्राथमिकतालाई अटुट समर्थन गर्न तयार छ।”

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्