बाजुरा — बुधबार राति आएको बाढीले हिमाली गाउँपालिका–१ विच्छ्यामा ११ घर बगाएको छ। विच्छ्या खोलामा आएको बाढीले गाउँपालिकाको १, ३ र ५ नम्बर वडामा ठूलो क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक देवबहादुर चौधरीले जानकारी दिए।
उनका अनुसार बाढीले ११ घर बगाउनुका साथै ७ घरमा क्षति पुर्याएको र १७ घर उच्च जोखिममा रहेको छ। कवाडी प्रहरी चौकीको टोलीले बाढी प्रभावित क्षेत्रमा पुगेर तथ्यांक संकलन गरेको हो।
गाउँपालिका–१ का नरेन्द्रबहादुर बुढा, छञ्चलाल थापा, धनसिंह थापा, सब्बले थापा, लालबहादुर थापा, सुजलाल थापा र गोवतल थापाको घर, पसल तथा खेतबारीमा क्षति पुगेको छ। त्यस्तै, वडा नं ५ का नवराज बुढा, देवीलाल चदारा, विरवल चदारा, अजय चदारा, हिउँसरा ल्वार र अङ्गविर चदाराको घर बगाएको प्रहरी निरीक्षक चौधरीले बताए।
यसैगरी बलबहादुर चदारा, मुगा लुहार, देबीलाल बुढथापा, वीरभान लुहार र डवल लुहारका घरसमेत बाढीले बगाएको छ।
बाढीका कारण सुजलाल थापा, धनसिंह थापा, जबैलाल थापा, धनबहादुर थापा, चन्द्रापति थापा, धर्मलाल थापा र बलचन्द्र थापासहित १७ घरधुरी उच्च जोखिममा छन्। स्थानीय उने थापा, लालसिंह बोहरा, डिलबहादुर थापा, हरिलाल थापा, भउरलाल थापा, चन्द्रवान थापा, रत्नपति थापा, गोबनल थापा, धर्मजीत थापा र लक्ष्मण थापाको घर पनि जोखिममा रहेको जनाइएको छ।
बाढीले सरकारी कार्यालय, विद्यालय र सार्वजनिक संरचनामा पनि क्षति पुर्याएको छ। वडा नं १ कार्यालय, विच्छ्या माध्यमिक विद्यालय, स्वास्थ्य चौकी, स्थानीय विद्युत लाइन, झोलुङ्गे पुल, नेटा र देउसैनको पानी घट्ट समेत जोखिममा छन्।
क्षतिको अवस्थाको अनुगमन गर्न गाउँपालिका अध्यक्ष गोविन्द्रबहादुर मल्लको नेतृत्वमा टोली प्रभावित क्षेत्रमा पुगेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापाका अनुसार टोलीले तीन वटै वडामा पुगेर बाढीले पुर्याएको क्षति र प्रभावितको अवस्था बुझ्ने कार्य गरेको छ।






