काठमाडौं – महाकाली नदीमा पानीको बहाब अत्यधिक बढेपछि नेपाल–भारत सीमा नाकामा पर्ने कञ्चनपुरको बनबासा पुल (शारदा ब्यारेज)मा सवारीसाधन तथा पैदल यातायात बन्द गरिएको छ।
आज बिहान ११ बजे महाकाली नदीमा १ लाख २६ हजार ७१२ क्यूसेक पानीको बहाब मापन भएको कञ्चनपुर प्रहरीले जनाएको छ। बाढी मापन केन्द्रको मापदण्डअनुसार एक लाखभन्दा बढी क्यूसेक बहाब हुँदा सुरक्षाका दृष्टिले खतरा मानिने भएकाले चार पाङ्ग्रे, दुई पाङ्ग्रे तथा पैदल यात्रु समेतको आवतजावत रोकिएको हो।
भारततर्फको शारदा ब्यारेज केन्द्रले पनि सूचना जारी गर्दै आगामी केही घण्टासम्म वर्षा जारी रहने र पानीको बहाब अझै बढ्ने सम्भावना रहेको जनाएको छ। सूचनामा अत्यावश्यक नपरेसम्म पुल हुँदै यात्रा नगर्न आग्रह गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल वर्षा गराउने प्रणाली पश्चिम नेपालतर्फ केन्द्रित छ, जसका कारण वर्षाको सम्भावना अझै कायम रहेको मौसमविद्हरूले बताएका छन्।






