काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली आगामी भदौ १४ गते चीन प्रस्थान गर्दैछन् । उनी शांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन चीन जान लागेका हुन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार सम्मेलन भदौ १५ र १६ गते (अगस्ट ३१ र सेप्टेम्बर १) बेइजिङमा हुनेछ ।
यो सम्मेलनको उद्घाटन चिनियाँ राष्ट्रपति सी जिनपिङले गर्नेछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखहरूको उपस्थिति रहनेछ । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले सम्मेलनको अवसरमा चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
सन् २००१ मा क्षेत्रीय स्थिरता र आपसी सहयोग प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको एससीओमा चीन, काजकस्तान, किर्गिस्तान, ताजिकिस्तान, उजबेकिस्तान, रुस, भारत, पाकिस्तान, इरान र बेलारुस गरी १० देश सदस्य छन् । नेपाल सन् २०१६ देखि यस संगठनको संवाद साझेदार हो । यस पटकको सम्मेलनमा राजनीति, अर्थतन्त्र र सुरक्षाका विषयमा उच्चस्तरीय छलफल हुने छ । नेपालको यस सम्मेलनमा पहिलोपटक उच्चस्तरीय सहभागिता हुन लागेको हो ।






