मकवानपुर – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रालय र सरकारी निकायमा हुने अनावश्यक खर्च नियन्त्रण गर्दै आर्थिक सुशासन कायम गर्न निर्देशन दिएका छन्। बुधबार मन्त्रालयका सचिवहरूको बैठकलाई सम्बोधन गर्दै उनले दक्ष, पारदर्शी र समयमै सेवा वितरणलाई सरकारको मुख्य एजेन्डा बनाउनुपर्नेमा जोड दिए।
मुख्यमन्त्री बानियाँले मन्त्रालय सञ्चालनमा कार्यक्षमता अभिवृद्धि गर्न, कामको गुणस्तर सुधार गर्न र “काम नगरी तलब खाने” प्रवृत्ति अन्त्य गर्न आग्रह गरे। उनले कर्मचारीको कार्यक्षमता वृद्धिमा ध्यान दिन र महत्त्वपूर्ण योजनाहरू समयमै सम्पन्न गर्न निर्देशन दिए।
उनको भनाइमा, कार्यव्यवस्था र जिम्मेवारीमा ढिलाइ नगरी एकताबद्ध रूपमा कार्य सम्पादन गर्न, बैठक तथा संरचना सम्बन्धी प्रस्तावहरू समयमै तयार गर्न, सरकारी साधन–स्रोतको दुरुपयोग रोक्न र समयमै नतिजा दिने प्रणाली विकास गर्न आवश्यक छ।
नीति, निर्णय र कार्यान्वयनलाई सरकारको तीन आधारस्तम्भका रूपमा व्याख्या गर्दै मुख्यमन्त्री बानियाँले स्पष्ट नीति निर्माण, छिटो निर्देशन र समयमै सेवा उपलब्ध गराउने प्रणालीलाई मजबुत बनाउनुपर्ने बताए।






