मुख्यमन्त्री बानियाँद्वारा निवास र कार्यालय खर्च ५० प्रतिशत कटौती गर्ने घोषणा

हेटौँडा — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री निवास तथा कार्यालयमा हुने सुविधा र बन्दोबस्ती बापतको खर्च ५० प्रतिशतले कटौती गर्ने घोषणा गरेका छन्। बुधबार प्रदेशसभाको विशेष समयपछि सम्बोधन गर्दै उनले विगतका मुख्यमन्त्रीहरूले गर्ने खर्चलाई आधा घटाउने र आफ्नो कार्यकालमा सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे।

मुख्यमन्त्री बानियाँले पहिलो मन्त्रिपरिषद् बैठकबाट सेवा–सुविधाबाट प्राप्त रकम निर्वाचन क्षेत्रमा विपन्न परिवारका लागि घर निर्माणमा खर्च गर्ने निर्णय गरिएको जानकारी दिए। उनले आगामी दशैंअघि मकवानपुर क्षेत्र नं. २ (ख) का ३० वटै वडाका अति विपन्न परिवारका लागि घर निर्माण गरी हस्तान्तरण गर्ने घोषणा गरे।

उनका अनुसार पहिलो मन्त्रिपरिषद्को निर्णयअनुसार वनकरिया, थामी, चेपाङ, जिरेल, पहरी लगायत सीमान्तकृत र पिछडिएका जातजातिका विद्यार्थीलाई लक्षित छात्रवृत्ति वितरण गरिनेछ। आर्थिक अभावका कारण पढ्नबाट बञ्चित भएका विद्यार्थीलाई अध्ययनमा सहजीकरण गर्ने उद्देश्य रहेको उनले बताए।

बानियाँले विगतका राम्रा कार्यक्रमलाई निरन्तरता दिने, विपद् व्यवस्थापनलाई विशेष प्राथमिकतामा राख्ने र पुनर्निर्माण तथा जोखिम न्यूनिकरणमा सरकार पूर्णरूपमा प्रतिबद्ध रहने बताए। “जनमुखी, सेवामुखी, न्यायमुखी, आयमुखी र विकासमुखी सरकारको तर्फ अगाडि बढ्ने मेरो यात्रा निरन्तर रहने छ,” उनले भने।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्