काठमाडौं – प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा आज तय गरिएको भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकमाथिको छलफल स्थगित भएको छ।
बिहान १० बजे बस्ने भनिएको बैठकमा विधेयकको प्रतिवेदनमाथि छलफल हुने तय थियो। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले विधेयकको मस्यौदा तयार पारी यसअघि नै समिति सदस्यहरूलाई वितरण गरिसकेका थिए।
तर कतिपय सांसदहरूले मन्त्रालयले मस्यौदा तयार पारेको भन्दै असन्तुष्टि जनाएका थिए। यस्तै, समितिको आन्तरिक छलफल अझै बाँकी रहेको कारण बैठक स्थगित गरिएको हो।
समिति सदस्य शान्ति विकका अनुसार बुधबार पुनः बैठक बस्ने तयारी छ। अर्का सदस्य अशोक कुमार चौधरीले पनि मस्यौदामाथि आन्तरिक छलफल हुन बाँकी रहेको बताए।







