नयाँ दिल्ली – लोकसभा विपक्षी दलका नेता तथा कांग्रेस सांसद राहुल गान्धीले भारतको निर्वाचन आयोगमाथि पुनः तीव्र प्रहार गरेका छन्। उनले आयोगमाथि लोकतान्त्रिक मूल्य र संविधानको आधारभूत सिद्धान्त कमजोर पार्ने आरोप लगाएका छन्।
गान्धीका अनुसार ३०० सांसदले निर्वाचन आयोगसँग भेटेर एउटा आधिकारिक कागजात बुझाउन चाहेका थिए तर आयोगले अनुमति दिन अस्वीकार गर्यो। “उनीहरू डराउँछन्, ३०० सांसद आएर सत्य बाहिर आयो भने के हुन्छ? यही कुरा हो,” गान्धीले भने।
उनले वर्तमान परिस्थितिलाई केवल राजनीतिक संघर्ष मात्र नभई देशको ‘आत्मा’ र ‘संविधानको रक्षा’ गर्ने लडाइँको रूपमा चित्रित गरे। “एक व्यक्ति, एक मत नै संविधानको आधार हो,” गान्धीले जोड दिए। कर्नाटकमा देखिएका अनियमितताको उदाहरण दिँदै उनले भने, “त्यहाँ एक व्यक्तिको मत धेरै स्थानमा चलिरहेको छ। यस्तो केवल बेङ्गलुरुमा मात्र होइन, देशका धेरै निर्वाचन क्षेत्रमा भइरहेको छ। पूरा विपक्षी गठबन्धन यो लडाइँ लडिरहेको छ र युवाहरूलाई यो कुरा बुझिसकेका छन्।”
गान्धीले आयोगलाई भ्रामक सूचना प्रवाह गरेको आरोप पनि लगाए। “यो उनीहरुकै डेटा हो, हामीले त्यसलाई मात्र देखाएका हौँ। आयोगलाई थाहा छ कि अब उसको डेटा चुहिनेछ,” उनले चेतावनी दिए।






